जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरधामको जानकी मन्दिर परिसरमा रहेका गैर धार्मिक पर्चा, पम्पलेट तथा होडिङ्ग वोर्डहरु युवा अभियानीहरुले हटाएर सफा बनाएका छन् । जानकी मन्दिर व्यवस्थापनले मन्दिरको फूलबारीमा लगाएको तरकारी खेती नष्ट गरेर होडिङ्ग वोर्डहरु हटाउनका लागि सम्बन्धि निकायलाई १५ दिन अगाडि नै आह्वान गरेपनि नहटाएपछि आज युवाहरूले बाध्य भएर हटाएका छन् । जानकी मन्दिरको पूर्वी प्रवेशद्वार सँगै रहेको मधेश प्रदेशका मुख्यमन्त्रीको ठूलो होडिङ्ग बोर्ड हटाउनुका साथै जानकी मन्दिरको दक्षिण तीर रहेको प्रवेशद्वारसँग रहेको मोटरसाइकल प्रचारको होडिङ्ग बोर्ड हटाउने काम भएको छ । यसका साथै अन्य साना साना वोर्डहरु पनि हटाउने काम भएको छ ।
यसका साथै मन्दिर परिसरमा रहेका अन्य गैर धार्मिक प्रचार सामाग्रीहरू पनि हटाउने काम भएको युवा अभियानी सरोज कुमार मिश्रले जानकारी दिनु भएको छ । आफूहरूले पहिला नै होडिङ्ग वोर्डहरु झिक्नका लागि सम्बन्धित निकायसँग आग्रह गरेपनि बेवास्ता गरेपछि आफूहरूले बाध्य भएर आफै हटाउनु परेको जानकारी उहाँले दिनु भएको छ । विश्वका हिन्दुहरूका लागि आस्थाको केन्द्रको रुपमा रहेको विश्वका ठूला मन्दिरको रुपमा रहेको जानकी मन्दिरको अवलोकनका लागि देश विदेशबाट ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेको वेलामा यस्ता प्रकारको सामाग्रीहरूका कारणले मन्दिरको स्वरूप नै बिगार्ने गरेको छ । युवाहरूको यस कामको जनकपुरधामका बुद्धिजीवी तथा नागरिक समाजले सराहना गरेको छ । यसका साथै सो ठाउँमा भएको फलामको सो बोर्ड झिक्न लगाउने तर्फ पहल हुनु पर्ने आवाज उठिरहेको छ । जनकपुरधाम उपमहानगरपालिकाले नै यसका लागि अग्रसर हुन आवश्यक छ । साभार : रेडियो नेपाल