जनकपुरधाम,कार्तिक १९ गते । जनकपुरधाम उपमहानगरपालिका ३ मा मदिराको नशामा आफैमा कुटाकुट गर्ने पाँच भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।भारत विहारको सितामढी जिल्लाका २५ वर्षीय सोनु कुमार, सोही ठाउँका ३१ वर्षीय सुरज राय, २२ वर्षीय महेश कुमार सिंह, उमेर नखुलेका हिमांशु शेखर र प्रभाकर नामका युवक पक्राउ परेका हुन् ।धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले मदिरा खाएर आफैँमा कुटाकुट गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको बताए ।उनका अनुसार दुई जना घाइते पनि छन् । बढी चोट लागेका प्रभाकरको उपचार प्रहरी निगरानीमा जनकपुरकै चन्द्रकला अस्पतालमा भइरहेको छ ।‘पाँचै जना भारतीय नम्बर प्लेटकै चारपाङ्ग्रे गाडीमा थिए’, डिएसपी अवाले भने, ‘जलेश्वरतर्फ जाने क्रममा झगडा गरेछन् । स्थानीयले जानकारी गराएपछि जिरोमाइलबाट प्रहरी पुगेर उनीहरूलाई गाडीसहित नियन्त्रणमा लियो ।’सामाजिक सञ्जालमा केहि व्यक्तिले पक्राउ परेका भारतीयहरूलाई अपहरणकारी भनेका छन् । यसबारे डिएसपी अवाले भने, ‘अपहरणकारी होइन, मदिरा सेवन गरी कुटाकुट गरेको अहिले खुलेको छ । थप अनुसन्धान भइरहेको छ ।’भारतको विहार राज्यमा मदिरा निषेध छ । त्यसैले विहारका मानिस नेपाली बजारमा आएर मदिरा सेवन गर्छन् । पछिल्लो समय यहाँ घटेका अधिकांश घटनामा भारतीय नागरिक र गाडी अपराधिक क्रियाकलापमा संलग्न रहने गरेको देखिएको छ ।साभार : नेपाल प्रेस