जनकपुरधाम,कार्तिक २९ गते । डाँका मुद्दाका दुई आरोपीलाई रौतहटबाट पक्राउ गरी महोत्तरी ल्याउने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको छ ।गोली लागेर सर्लाहीको लालबन्दी नगरपालिका २ का ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवान घाइते भएका छन् । उनी दुबै जनालाई पुनः नियन्त्रणमा लिएर महोत्तरी ल्याइएको छ ।महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीप गिरीका अनुसार शक्ति र अजयको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको छ । अहिले दुबै जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ ।गत कात्तिक २० गते राति महोत्तरीको जलेश्वर नगरपालिका ८ का भुवनेश्वर चौधरीको घरमा हतियारधारी समूहले डकैती गरेको थियो । उक्त घटनामा शक्ति र अजयसहितका व्यक्तिको संलग्नता रहेको भन्दै प्रहरी खोजी गरिरहेको थियो ।उनीहरु रौतहटमा लुकेर बसेको सुराक पाएका महोत्तरी प्रहरीले सहायक निरीक्षक रामेश्वरप्रसाद यादवकोे कमाण्डमा टोली पठायो । उक्त टोलीले शक्ति र अजयलाई गरुडा नगरपालिका ४ बाट नियन्त्रणमा लियो ।महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले शक्तिको साथबाट एक थान कटुवा पेस्तोल र चार राउण्ड गोली समेत बरामद भएको बताएका छन् ।उनी दुबै जनालाई आवश्यक कारबाहीका लागि महोत्तरी ल्याउने क्रममा प्रहरीको गाडी बिग्रेयो । त्यसपछि प्रहरीले बोलाएको अर्को गाडीमा राख्न खोज्दा उनीहरु भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।साभार : नेपाल प्रेस