जनकपुरधाम,माघ ४ गते । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा हुने दिनमै वीरगञ्जमा पनि भगवान् रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गरिने भएको छ ।अयोध्यामा जनवरी २२ अर्थात् माघ ८ मा प्राण प्रतिष्ठा अनुष्ठान हुँदैछ । सोही दिन वीरगन्जको घडिअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा भगवान् रामको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गर्ने तयारी गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाले प्राण प्रतिष्ठाको कार्यक्रम राखेको छ । उक्त दिन वीरगञ्ज महानगरक्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको वध, मदिरा, माछामासुको बिक्री वितरण लगायतका कार्य नगरिदिन महानगरले सूचना जारी गरेको छ ।सूचनाको अटेर गरेमा नियमानुसार कारबाही गरिने महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले जारी गरेको सूचनामा उल्लेख छ ।अयोध्यामा हुने भगवान् रामको प्राण प्रतिष्ठाको अवसरमा नेपालको विभिन्न स्थानमा कार्यक्रमको तयारी छ ।जनकपुरधामस्थित जानकी मन्दिरमा एक लाख २५ हजार दीप जलाउने बताइएको छ ।जनकपुरधामका मेयर मनोज साहले नगरवासीलाई दीपोत्सव गर्न अपिल गरेका छन् ।साभार : नेपाल प्रेस