चितवन,असार २८ गते । नारायणगढ-मुग्लिन सडक खण्डको सीमलतालमा खसेको पहिरोले यात्रुबाहक दुई बस बगाएको १४ घण्टा बितिसकेको छ । बाढीले बगाएर त्रिशूली नदीभित्र दुईवटा बस डुबेर ६५ जनामध्ये तीन जनाले ज्यान जोगाएपनि साँझ ६ बजेसम्म बाँकीको अवस्था पत्ता लाग्न सकेको छैन ।बिहान साढे ३ बजे त्रिशुली नदीभित्र बस डुबेपनि नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा ठूलो पहिरो जाँदा उक्त सडक खण्ड बन्द थियो । सडक एकतर्फी खुलाएर, यातायातका साधन पन्छाउँदै दुर्घटना स्थलमा पुगेर उद्धार प्रक्रियामा लाग्दा बिहानको साढे ८ भएको थियो ।
चितवनका प्रहरी प्रशासन प्रमुख, विपतजन्य उद्धारका सुरक्षा संयन्त्रको प्रमुखसहित करिब दुई सय जनाको उद्धार टोली बिहान साढे ८ बजेदेखि खटिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसाल बताउँछन् ।
उनका अनुसार जनपथ प्रहरीको एक सय बढी, नेपाली सेनाको ७५ जनाको हाराहारी, सशस्त्र प्रहरीबाट पनि सोही संख्यामा सुरक्षाकर्मी तथा तालिमप्राप्त गोताखोर पनि ७५ जनाकै संख्यामा उद्धार प्रक्रियामा खटिएका छन् । तर, उद्धारको प्रक्रिया थालेको १० घण्टा बितिसक्दा पनि उद्दार टोलीले दुवै बस भेटाउन सकेको छैन । न त नदीमा बेपत्ता मानिसहरुको कुनै जानकारी नै पत्ता लाग्न सकेको छ ।
चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिमाल धमिलो पानी, पानीको उच्च बहाबका कारण खोजी कार्य तीव्र रुपमा गर्न नसकिएको बताउँछन् । गोताखोरको टोलीले दुर्घटनास्थल मात्रै होइन नारायणगढ आसपासका नारायणी नदी क्षेत्रमा समेत खोजी गरिरहेको छ ।
यद्यपि, गोताखोर पानीभित्र नै पस्न सक्ने अवस्था भने छैन । सहायक प्रमुख जिल्ला अधिकारी भुसाल भन्छन्, ‘जिल्लास्थित सुरक्षा संयन्त्र, सुरक्षा निकायका प्रमुखसमेत दुर्घटना स्थल र उद्धार कार्यमा संलग्न हुनुहुन्छ । तर, पानीको बहाब र धमिलो पानीका कारण अहिलेसम्म हामीले परिणाम दिन नसकेका हौँ ।सुरक्षा संयन्त्रले निकै संवेदनशील भएर मानिस र बसको खोजी गरिरहेको उनले दाबी गरे । पछिल्लो केही समययता पानीको बहाब दुई मिटर घटेपनि धमिलो पानीका कारण गोताखोरको टोली पानीभित्र पसेर खोजी गर्न समस्या भएको हुनसक्ने उनको भनाइ छ ।उद्दारमा खटिएका टोलीले पानीको बहाब बढी भएका कारण बालुवाले बस छोपिएर देख्न नसकिएको पनि हुनसक्ने अनुमान गरेको छ ।तर, तत्कालै पानीभित्रै पस्न नसकेको अवस्थामा पानीको बहाब घटेपछि उद्दार प्रकृया सहज हुने उद्दारमा संलग्न सुरक्षाकर्मीसहितको विपतका टोलीले अपेक्षा गरेको छ ।
साभार : नेपाल प्रेस