जनकपुरधाम,भदौ १७ गते । जिल्ला प्रशासन कार्यालय धनुषामा राष्ट्रिय परिचयपत्र बनाउनेहरूको भिड लागेको छ ।
ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षाको भत्ताका लागि राष्ट्रिय परिचयपत्र हालका लागि अनिवार्य नगर्नका लागि सर्वोच्च अदालतले आदेश गरे पनि धनुषामा भने परिचयपत्र बनाउनेको भिड घटेको छैन ।
सर्वोच्च अदालतले हालका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्नका लागि आदेश दिए पनि कतिपय वडाध्यक्षले सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र माग्न बन्द नगरेका कारण परिचयपत्र बनाउनेको भिड खासै नघटेको राष्ट्रिय परिचयपत्र शाखाले जनाएको छ ।
धनुषाबाट वैदेशिक रोजगारीमा जाने युवाहरूले राहदानी बनाउने तथा नवीकरण गर्ने भएका कारणले सर्वोच्चको आदेशपछि पनि परिचयपत्र बनाउनेको सङ्ख्यामा खासै कमी नआएको हो ।
राष्ट्रिय परिचयपत्र बनाउन बिहानदेखि नै लाइन लाग्नुपर्दा गर्मीमा समयमा सेवाग्राहीलाई समस्या भएको छ । खास गरेर ज्येष्ठ नागरिकलाई बढी नै समस्या भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीका लागि विगतका प्रमुख जिल्ला अधिकारीहरुले सेडको निर्माण गरेर पङ्खाको व्यवस्था गरेकाले केही मात्रामा सजिलो भएको छ ।
साभार : रेडियो नेपाल