काठमाडौं , कार्तिक २८ गते । ब्याटिङमा विष्फोटक १३० रन, बलिङमा केवल ८ रन खर्चेर महत्वपूर्ण ५ विकेट । आज कुवेतविरुद्धको म्याचमा नेपालकी कप्तान पूजा महतोको प्रदर्शन हो यो । अन्तर्राष्ट्रिय टि २० म्याचमा एउटा खेलाडीबाट योभन्दा उच्च योगदानको सायद कल्पना पनि गर्न सकिँदैन ।
महिला यू–१९ विश्वकपको एसिया छनोटमा कुवेतलाई १६५ रनले हराउने क्रममा पूजाले जादुमयी खेल देखाइन् । बल र ब्याट दुवैबाट उनी हावी भएपछि कुवेतले कुनै मौका पाएन । नेपालले १६५ रनको विशाल अन्तरले जित्यो ।
यो प्रतियोगितामा रन रेट महत्वपूर्ण भएकाले नेपाललाई ठूलो अन्तरालको जित चाहिएको थियो । त्यही आवश्यकतालाई बुझेर पूजाले सुरुबाटै आक्रामक अन्दाजमा ब्याटिङ गरिन् । कुवेतका कुनै पनि बलरले उनलाई समस्यामा पार्न सकेनन् ।
नेपालले १.२ ओभरमा १० रन बनाउँदा पहिलो विकेटका रुपमा ओपनर साना प्रवीनलाई गुमाएपछि क्रिजमा आएकी थिइन् पूजा । अर्की ओपनर सावित्री धामीसँग मिलेर उनले नेपालको स्कोर ५६ रनसम्म पुर्याइन् । ११ रनको निजी स्कोरमा सावित्री आउट भएपछि क्रिजमा आइन् सोनी पाख्रिन ।
पूजा र सोनीबीच ८४ बलमा १५७ रनको कीर्तिमानी साझेदारी भयो । पूजालाई बलियो साथ दिएकी सोनी ४३ रनमा अविजित रहिन् ।
आजको खेलबाट पूजाले नेपाली महिला क्रिकेटका थुप्रै कीर्तिमान आफ्नो नाममा लेखाएकी छन् । उनले बनाएको शतक यू १९ अन्तर्राष्ट्रिय महिला क्रिकेटमा पहिलो र समग्र महिला क्रिकेटमा दोस्रो हो । उनीभन्दा अगाडि रुबिना क्षेत्रीले मात्रै अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएकी छन् ।पूजाको ब्याटबाट निस्किएको १३० रन अन्तर्राष्ट्रिय महिला क्रिकेटमा कुनै पनि नेपाली खेलाडीले बनाएको उच्च स्कोर पनि हो । साथै, एउटै टि २० खेलमा सतक र पाँच विकेटको दुर्लभ कीर्तिमानसमेत उनले बनाएकी छन् ।
पूजाले सोनीसँग गरेको १५७ रनको साझेदारी पनि अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालको नयाँ कीर्तिमान हो ।
आजको खेलमा मात्र नभएर समग्र प्रतियोगितामै उनको प्रदर्शन उत्कृष्ट छ नेपालले खेलेका ५ खेलमध्ये ४ खेलमा उनले नेपालका तर्फबाट सर्वाधिक व्यक्तिगत स्कोर बनाएकी छन् ।
पहिलो खेलमा थाइल्यान्डविरुद्ध उनले ३५ रन बनाउनुका साथै २ विकेट लिएकी थिइन् । दोस्रो खेलमा कुवेतविरुद्ध उनले सर्वाधिक ३४ रन बनाइन् भने बलिङमा एक विकेट लिइन् ।
यूएईविरुद्धको तेस्रो खेलमा नेपाल पराजित हुँदा पूजा एक्लैले संघर्ष गरेकी थिइन् । उनले ४३ बलमा ४८ रन बनाए पनि नेपाललाई जितसम्म पुर्याउन सकिनन् । बलिङमा उनले एक विकेट लिएकी थिइन् ।
चौंथो खेलमा थाइल्यान्डविरुद्ध उनको ब्याट चलेन । सायद आजको लागि उनले साँचेकी थिइन् । बलिङमा एक विकेट लिइन् ।
कुल मिलाएर पूजाले ५ खेलमा २५१ रन बटुलेकी छन् भने १० विकेट लिएकी छन् । नेपालले अन्तिम खेल भोली यूएईविरुद्ध खेल्दैछ । यो फाइनल सरह हो । यूएईसँग फराकिलो जित दर्ता गर्न सके मात्रै नेपालको यु १९ विश्वकपको ढोका खुल्न सक्छ । र, यो खेलमा सबैभन्दा बढी आशा पूजाबाटै गरिने छ ।
यो आशा पूरा हो या नहोस, यति भन्न सकिन्छ कि नेपाली महिला क्रिकेटले एकजना स्टार अलराउन्डर पाएको छ । उनी राष्ट्रिय महिला टिमकी सदस्य समेत हुन् । उनले १५ महिना अगाडि उमेरमा नै राष्ट्रिय टीममा डेब्यू गरेकी थिइन् ।
१८ वर्षीया पूजा मधेसकी छोरी हुन् । महोत्तरीको गौशाला नगरपालिका ९ डुवरबना घर भएकी उनी बुवासँग भारतमा बस्दै आएकी थिइन् । उनको बुवा भारतको नयाँ दिल्लीमा मजदुरी गर्ने गर्थे । बुवाले नै उनलाई क्रिकेटमा लाग्न प्रेरित गरेका हुन् । आफू क्रिकेट खेलाडी बन्ने सपना पूरा नभए पनि उनले छोरीलाई भने अघि बढाउन सफल भए । पूजा आफ्नो बुवालाई नै पथ प्रदर्शक मान्ने गर्छिन् ।
भारतमा पूजाले क्रिकेटमा राम्रो गरिरहेको चर्चापछि नेपाल क्रिकेट संघले उनलाई झिकाएको हो । उनलाई सिधै राष्ट्रिय टोलीमा समावेश गरिएको थियो ।
साभार : नेपाल प्रेस