जनकपुरधाम, वैशाख ८ गते । नेपाल भारत खुला सिमा संवाद समूहको आयोजनामा आज देवडिहामा "धर्म, अध्यात्म र राष्ट्र" विषयक एक विशेष विचार गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख आकर्षणको रूपमा पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झाको उपस्थिति रहेको थियो। गोष्ठीको उद्देश्य धार्मिक, आध्यात्मिक र राष्ट्रप्रेमबारे जनचेतना फैलाउनु रहेको आयोजकले बताएका छन्।
गोष्ठीको अध्यक्षता देवचन्द्र झाले गरेका थिए। उनले भगवान शंकराचार्यजीलाई यथाशीघ्र देवडिहा आगमनका लागि औपचारिक निमन्त्रणासमेत गरेका थिए। शंकराचार्यजीको सम्भावित आगमनलाई ध्यानमा राख्दै कार्यक्रमलाई विशेष महत्वका साथ सम्पन्न गरिएको थियो। देवचन्द्र झाले देवडिहा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने कुरामा पनि जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता तथा पुरी शंकराचार्यका कृपापात्र शिष्य प्रेमचन्द्र झा थिए। उनले धर्म, अध्यात्म र राष्ट्रबोधको सम्बन्धबारे गहिरो विश्लेषण प्रस्तुत गर्दै जनतालाई आआफ्नो भूमिकाबारे सोच्न प्रेरित गरे। उहाँको मन्तव्यले श्रोतामाझ राष्ट्रिय एकता र आध्यात्मिक चेतनाको भावना थप बलियो बनाएको थियो।
गोष्ठीमा विशेष अतिथिका रूपमा नेपाल भारत खुला सिमा संवाद समूहका अध्यक्ष राजीव झा, डा. आर.एन. झा, बुद्धिजीवी राजकुमार झा, मना जी, इन्द्रेश झा, कृष्ण कुमार साह, सुदीप महतो, ईश्वर कापर, शुभास झालगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। राजीव झाले नेपाल–भारत खुला सिमाबाट हुने लाभ र सांस्कृतिक सम्बन्धको सुदृढीकरणको आवश्यकता औंल्याउँदै खुला सिमालाई पूर्ण रूपमा खुला राख्नुपर्ने धारणा राखे।
समापनमा आयोजकले यो गोष्ठीले धर्म, अध्यात्म र राष्ट्रप्रेमबीचको अन्तर्सम्बन्धलाई उजागर गर्नुका साथै नेपाल–भारतबीचको सांस्कृतिक एकतालाई अझ मजबुत बनाउने सन्देश दिएको बताए। कार्यक्रमले जनस्तरसम्म धार्मिक र राष्ट्रिय चेतनाको प्रभावकारी सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।


ffffffffffffffff_1780055023.jpg)




