काठमाडौं, असोज २६ : नेपाली कांग्रेसका जेनजी युवाहरुले नौं बुँदे माग राख्दै विधानमा संशोधन गरी जेनजी उमेर समूहका युवाहरु समेट्न माग गरेका छन् । नेपाली कांग्रेसले दल भित्र पनि बदलिएको समय अनुरुपको बदलाव अत्यावश्यक रहेको भन्दै जेनजी युवाहरुले कांग्रेसलाई सुझाव दिएका हुन् ।
आइतबार अपिल पत्र निकाल्दै उनीहरुले भनेका छन्, ‘देशमा भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन स्थापित गर्न हामी प्रतिवद्ध छौं । संगै, आफू आवद्ध रहेको दल, संस्था या समूहमा बदलिएको समय अनुरुपको बदलाव अत्यावश्यक छ त्यसकारण, हामी विनम्रतापूर्वक अपील गर्दछौं– ‘सबै बदलिऔं, सबै मिलेर देश बदलौँ ।’
पूरानै शैली र पूरानै प्रवृत्तिबाट नेतृत्व गर्न नसक्ने भन्दै प्रत्येक नयाँ या पूराना दलमा परिवर्तन जरुरी रहेको युवाहरुको भनाई छ । ‘पूरानै शैली र पूरानै प्रवृत्तिबाट कसैले पनि नेतृत्व गर्न सक्दैन । अतः प्रत्येक नयाँ या पुराना दलमा परिवर्तन जरुरी छ । हामी प्रत्येक व्यक्तिको प्रवृत्तिमा अनि विचार समुहहरुको शैलीमा परिवर्तन जरुरी छ । हरेकको चरीत्रमा र समयको चित्रमा जबर्जस्त परिवर्तन जरुरी छ,’अपिल पत्रमा उल्लेख गरिएको छ ।
साभार : काठमाडौं प्रेस