जनकपुरधाम ,मंसिर २८ गते । मधेश प्रदेशको आम सञ्चार प्राधिकरणको आयोजनामा मधेश प्रदेशका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई एक दिने कृत्रिम बौद्धिकतासम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
विश्वमा बढ्दो कृत्रिम बौद्धिकताको प्रयोग, यसको उपयोग तथा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी सहितका विषयमा पत्रकारहरूलाई प्रशिक्षण दिइएको हो । कृत्रिम बौद्धिकताको प्रयोगले समय तथा साधन श्रोतको खर्चमा कमी आए पनि यसको प्रयोग सावधानी पूर्वक गर्नुपर्ने विषयमा प्रशिक्षकले पत्रकारहरूलाई सचेत गराउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका अर्थमन्त्री मधेश प्रसाद यादवले समाजमा सकारात्मक परिवर्तनका लागि कृत्रिम बौद्धिकताको सावधानीपूर्वक उपयोग गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले कृत्रिम बौद्धिकता सम्बन्धि प्रशिक्षणले पत्रकारहरूको क्षमता विकास तथा नयाँ नयाँ सूचना प्रविधिको प्रयोग गर्नका लागि महत्वपूर्ण हुने बताउँदै पत्रकारहरूको दुर्घटना तथा स्वास्थ्य बिमालाई निरन्तरता दिनुका साथै भरण पोषणका लागि सहयोग गर्ने विषयमा सरकार गंभिर रहेको बताउनुभयो ।

अर्थमन्त्री यादवले वर्तमान मधेश प्रदेश सरकार २०८४ सम्म चल्ने स्पष्ट पार्दै जेन्जी पुस्ताको आन्दोलनको भावना अनुसार काम गर्ने शैली तथा सोच परिवर्तन हुन जरुरी रहेको बताउनुभयो ।
आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले प्राधिकरणले मधेश भरिका पत्रकारहरूको जीवन बिमा, दुर्घटना बिमाका साथै विभिन्न सञ्चार माध्यमहरूलाई थोरै भए पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने गरेको बताउनुभयो ।
मधेश प्रदेशका मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले कृत्रिम बौद्धिकताको प्रयोग गरेर पत्रकारहरूको काम गर्ने क्षमतामा वृद्धि गर्न सकिने बताउँदै पत्रकारहरू यसकै भर मात्र पर्न नहुने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेश कुमार कर्णले पत्रकारहरू कृत्रिम बौद्धिकताको दास हुन नहुने बताउँदै यसलाई टुल्सको रुपमा मात्र प्रयोग गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका उपाध्यक्ष ज्योति झा, धनुषाका अध्यक्ष पुरन गुप्ता र प्राधिकरणका प्रमुख प्रशासकीय अधिकृत रञ्जिता साहले कृत्रिम बौद्धिकताको प्रयोग सावधानीपूर्वक गर्नुपर्ने धारणा राख्नुभयो ।