एजेन्सी,माघ १४ गते । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको बुधबार बिहान पुणे जिल्लामा विमान दुर्घटना हुँदा मृत्यु भएको छ । अधिकारीहरूका अनुसार उनीहरू सवार रहेको लियरजेट ४५ विमान पुणेको बारामती क्षेत्रमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो ।
प्रारम्भिक जानकारीअनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको नियन्त्रण गुमेको थियो र अवतरणकै क्रममा दुर्घटनाग्रस्त अवतरण (क्र्यास ल्यान्डिङ) भयो ।

दुर्घटनाका बेला लियरजेट ४५ विमानमा पाँच यात्रु सवार थिए । तीमध्ये अजित पवार, थप दुई जना कर्मचारी (एक पीएसओ र एक सहयोगी) तथा दुई जना चालक दलका सदस्य (पाइलट–इन–कमाण्ड र फर्स्ट अफिसर) थिए ।
महाराष्ट्र सरकारले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सम्पर्क गरी विमान दुर्घटनाबारे जानकारी र अपडेट लिएको उल्लेख छ ।
अजित पवार वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का संस्थापक शरद पवारका भतिजा र लोकसभा सांसद सुप्रिया सुलेका काकाका छोरा (कजिन) हुन् । उनी पटक पटक गरी सबैभन्दा लामो समय महाराष्ट्रका उपमुख्यमन्त्री रहेका नेता थिए । उनले विभिन्न सरकारहरूमा ६ कार्यकाल उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाले ।
पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे र एकनाथ शिन्दे नेतृत्वका मन्त्रिपरिषद्मा उनले उपमुख्यमन्त्रीका रूपमा काम गरेका थिए । उनी सुनैत्रा पवारसँग विवाहित छन् र उनीहरूका दुई छोरा जय र पार्थ पवार छन् ।
साभार : नेपाल प्रेस