विराटनगर ,असार १२ गते। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रका सुन्दर पक्ष रहेका बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी मिडिया सम्मेलन’ को उद्घाटन गर्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउन र नागरिक अधिकार स्थापित गर्न सञ्चारकर्मीहरूले सत्य र तथ्यको आधारमा सशक्त रुपमा अघि बढ्नु पर्ने धारणा राख्नुभयो ।

उहाँले आगामी साउन १ गतेदेखि कोशी प्रदेश सरकारले सबैलाई विज्ञापनको हक र अधिकार दिने भन्दै प्रेस क्षेत्रलाई उपेक्षा गरेर नागरिक स्वतन्त्रता स्थापित हुन नसक्ने कुरामा जोड दिनुभयो । उहाँले लोकतन्त्र मुलुकको संस्कृति भइसकेकाले यसलाई कसैले पनि सखाप पार्न नसक्ने जिकिर गर्दै जनताको भाव र विद्रोहबाट स्थापित लोकतन्त्रमा प्रेस जगत मर्यादित हुनु पर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले आगामी साउनदेखि बजेट एवं कार्य विधिका साथ सञ्चार प्रतिष्ठान गठन हुने जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष विष्णु निष्ठुरी, डा महेन्द्र विष्ट र शिव गाउँलेलाई सम्मान गरिएको थियो । महासङ्घका महासचिव रामप्रसाद दाहालले ‘पत्रकार आचार संहिता र मर्यादित पत्रकारिता’ तथा महासङ्घका कोशी प्रदेशका पूर्व अध्यक्ष मोहन काजीले ‘कोशी प्रदेशका पत्रकारहरूको अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
साभार ः रेडियो नेपाल








