वीरगंज ,असार १२ गते। मुस्लिम धर्मावलम्बीहरूले आज वीरगंजमा मोहरम पर्व धुमधामका साथ मनाएका छन् ।
हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइन्छ । यस पर्वमा वाञ्छित मनोकामना पूर्ण हुने आशामा वा पूर्ण भएपछि ताजिया बनाउने गरिन्छ । हजरत इमाम हुसेन इस्लामका पैगम्बर मुहम्मदका नाति थिए । उनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको बलिदान दिएका थिए । यसैको सम्झनामा ताजिया निस्कने गरेको छ ।

ताजियालाई सहिदहरूको प्रतीक मानिन्छ । ताजियासँगै जुलुस निकालिन्छ र त्यसपछि यो प्रतीकात्मक रूपमा विर्सजन गरिन्छ । मोहर्रमको १०औँ दिन आशुराको दिन र हुसेनको बहादुर बलिदानको सम्झना दिन हो । केराको पात काटी गाड्ने, मोहर्रमको एक दिन पहिला बनाएको ताजिया बाहिर निकाली ‘चौकी’ बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण तजिया एकजुट पारी स्थानीय कर्बलामा लगी विर्सजन गरेपछि मेलाको समापन हुने गर्दछ ।
बीरगंजको छपकैया, मुर्ली, गण्डक, गहवा लगायतका स्थानबाट हजारौँको सङ्ख्यामा बाजागाजा, लाठी प्रदर्शन सहित राष्ट्रिय झण्डा फहराउँदै र राष्ट्रिय गान बजाउँदै आज दिउँसो वीरगन्जमा हजारौँको सङ्ख्यामा निस्किएको र्यालीले नगर परिक्रमा गरेको थियो । नगर परिक्रमा पछि र्याली पुन घण्टाघरमा पुगेर समापन भएको थियो ।
र्यालीमा मुस्लिम धर्मावलम्बीसँगै अन्य वर्ग र समुदायका व्यक्तिहरूको समेत सहभागिता रहेको र यो पर्वले राष्ट्रिय एकतालाई मजबुद बनाएको हाजी बाबुजान अलीले बताउनु भयो ।
साभार ः रेडियो नेपाल








