जनकपुरधाम, भदौ १५ । अन्तर्राष्ट्रिय बेपत्ता पारिएका पीडितहरूको दिवस–२०२६ को अवसरमा एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधामको आयोजनामा जनकपुरधामस्थित जनकचोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधामका अध्यक्ष मनिष श्रीओमको अध्यक्षता तथा राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनी केबटको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा अध्यक्ष मनिष श्रीओमले बेपत्ता पारिएका व्यक्तिहरूको सत्यतथ्य सार्वजनिक गर्दै पीडित परिवारलाई न्याय र परिपूरण सुनिश्चित गर्न राज्य गम्भीर बन्नुपर्ने बताउनुभयो।
उहाँले भदौ १० गते त्रिशूलीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा घाइतेहरूको प्रभावकारी उपचारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो। साथै, बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभयो।
प्रमुख अतिथि बुद्धनारायण सहनी केबटले बेपत्ता पारिएका व्यक्तिहरूको खोजी तथा पीडित परिवारलाई न्याय दिलाउन निरन्तर पहल आवश्यक रहेको बताउँदै कार्यक्रम आयोजना गरेकोमा एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधामलाई धन्यवाद दिनुभयो।
कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपालका तर्फबाट कमल साह, डा. सुशील कुमार यादव, फूलकुमारी, सञ्जय प्रसाद साह, रामबहादुर साह, अम्बिका प्रसाद कर्ण, शिवशंकर मिश्र, उदय यादव र जमुना भुजेल लगायतको सहभागिता रहेको थियो।
त्यसैगरी विभिन्न मानवअधिकारवादी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरू उज्यालो नेपालका अमित कुमार मिश्र, WHR की सुभद्रा आले, Green Space Nepal का धीरज साह, महिला विकास सेवा केन्द्रका नैनो ठाकुर, पहिचान नेपालकी नगमा खान, सुनौलो विहानीका छोटु साह, इन्सेकका राजु पासवान, मुक्ती नेपालका विनोद महरा, आफन्त नेपालकी अमृता कुमारी घिमिरे, एडभोकेसी फोरमका राजकुमार महाशेठ तथा राष्ट्रिय आवाजको मोनु गुप्ता, राम युवा कमिटीको रामबाबु साह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी प्रतिनिधिहरूले बेपत्ता पारिएका व्यक्तिहरूको सत्यतथ्य सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय तथा परिपूरण उपलब्ध गराउन र मानवअधिकारको संरक्षणमा राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरेका थिए।
दीप प्रज्वलनमार्फत बेपत्ता पारिएका व्यक्तिहरूको सम्झना, पीडित परिवारप्रति ऐक्यबद्धता तथा त्रिशूली बाढीमा ज्यान गुमाएका र बेपत्ता भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो।
कार्यक्रमले सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्दै बेपत्ता पारिएका व्यक्तिहरूको शीघ्र खोजी र पीडित परिवारको न्यायका लागि निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ।











