काठमाडौँ , भदौ १६ गते । परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीमा हराइरहेका विदेशी नागरिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरेको छ ।
बाढीबारे जानकारी दिन मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा बाढीमा सङ्कलन गरिएका शव पहिचानका लागि हराइरहेका विदेशी नागरिकका नजिकका आफन्तलाई डिएनए प्रोफाइल पठाउन आग्रह गरेको हो ।
विदेशी नागरिकका आफन्तहरुले आफ्नै देशमा डिएनए प्रोफाइल तयार गराई नेपाल प्रहरीको आधिकारिक इमेल ठेगानामा पठाउन सक्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले बताउनुभयो ।
मन्त्रालयले डिएनए प्रोफाइल पठाउन कूटनीतिक माध्यमबाट सम्बन्धित देशहरूमा औपचारिक अनुरोध समेत गरिसकेको प्रवक्ता पौडेल क्षेत्रीले बताउनुभयो ।
बाढी प्रभावित क्षेत्रबाट हाल सम्म १ हजार १० वटा शव सङ्कलन गरिएको छ भने अधिकांश शवको सनाखत हुन सकेको छैन ।
यस्तै बाढीका कारण विभिन्न ३९ देशका ५ सय ९० जना विदेशी नागरिकसहित ४ हजार जना भन्दा बढी अझै हराइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका पहिचान हुन बाँकी शवहरू डिएनए नमूना लिएर जमिनमुनि व्यवस्थापन गरिएको र नजिकका आफन्तहरूबाट डिएनए प्रोफाइल प्राप्त भएपछि पहिचान गरी आफन्तलाई शव हस्तान्तरण गरिने परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले बताउनुभयो ।
बाढीमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारका लागि अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१ हजार जना भन्दा बढी नेपालीसहित विभिन्न देशबाट आएका विदेशी प्राविधिकहरू पनि सक्रिय रहेको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।
साभार : रेडियो नेपाल