जनकपुरधाम, भाद्र ३० गते । मिथिलाञ्चलसहित तराई–मधेशका विभिन्न जिल्लामा मंगलबार चौरचन पर्व श्रद्धाभक्तिपूर्वक मनाइएको छ। भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यस पर्वमा व्रती महिलाहरू दिनभर निराहार बसेर साँझ चन्द्रमाको पूजा गरी अर्घ्य अर्पण गरेका थिए। घरआँगन तथा पूजास्थललाई गोबरले लिपपोत गरी अरिपन बनाएर चन्द्रदेवको विधिपूर्वक पूजा गरिएको थियो।
पर्वका अवसरमा नयाँ माटाका भाँडामा जमाइएको दही, खजुर, पुडिया, खीर, पुरी, फलफूल तथा विभिन्न मिष्ठान्न सामग्री चन्द्रमालाई अर्पण गरिएको थियो। परिवारका सदस्यहरूले प्रसादसहित चन्द्रमाको दर्शन गरेका थिए भने पूजा सम्पन्न भएपछि प्रसाद आफन्त तथा इष्टमित्रलाई बाँडेर खाने र कोसेलीका रूपमा दिने परम्परालाई निरन्तरता दिइएको थियो। गणेश र चन्द्रमासँग सम्बन्धित धार्मिक मान्यतासँग जोडिएको चौरचन पर्वमा चन्द्रमाको पूजा गरे मिथ्या आरोपबाट मुक्ति मिल्ने जनविश्वाससमेत रहँदै आएको छ।