जनकपुरधाम, असोज १० गते । दिवङ्गत पितृहरूप्रति श्रद्धाभाव प्रकट गरेर भोली देखि शुरु हुने सोह्र श्राद्ध भन्दा एक दिन अगाडी आज ऋषि तर्पणी सम्पन्न भएको छ ।
ऋषि तर्पणीमा ऋषिहरू प्रति सम्मान प्रकट गर्दै मिथिलाञ्चल क्षेत्रका नदी, तलाउ तथा सरोवरहरूमा तर्पण गर्नेहरुको बिहानदेखि अत्यधिक भिड देखिएको छ ।
जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको गंगासागरमा बिहानदेखि हजारौँ भक्तजनहरू सहभागी भएर ऋषिहरू प्रति श्रद्धा अर्पण गरेर ऋषि तर्पणी गरेका छन् । ऋषि तर्पणीमा खरकये फूल –((फूल्की) काँक्रो, नगद सहित शङ्खले जलार्पण गर्ने चलन रहेको छ ।
जनकपुरधामको प्रसिद्ध गंगासागर पोखरीमा तर्पणका लागि नेपालका धनुषा, महोत्तरी, सर्लाही, सिरहा सहितका विभिन्न जिल्लाका अतिरिक्त सीमावर्ती भारतीय क्षेत्रका भक्तजनहरू तर्पणका लागि आउने गर्दछन् ।
सोह्र श्राद्धको मूल कार्यक्रम भोलीदेखि शुरु हुने बताउँदै पण्डित उमाशङ्कर झाले दिवङ्गत पितृ प्रति हरेक सन्तानले यस अवधिका हरेक दिन जल अर्पण तथा पिण्डदान गरेर श्रद्धाभाव प्रकट गर्न सुझाव दिनुभयो ।
उहाँले यस अवधिमा दिवङ्गत पितृहरूको आत्मा भूलोक अर्थात् घरवर पर विचरण गरेर आ–आफ्नो सन्तानसँग तर्पण तथा पिण्डको आश गर्ने गरेकाले हरेक सन्तानले १६ दिन नै पितृहरूको आत्माको शान्तिका लागि अनिवार्य रुपमा तर्पण गर्नुपर्ने सुझाव दिनुभयो ।
मिथिलाको बागमती, कमला, दुग्धमति, खाँडो सहितका नदी तथा घर नजिकको तलाउ एवं सरोवरमा, जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरीहरूमा तर्पण गर्नेहरुको भिड १६ दिनसम्म रहने गरेको छ ।
साभार : रेडियो नेपाल