काठमाडौं, असोज १२ गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सुरु हुनुअघि एक्सट्रीम इनर्जी ड्रिंकले प्रतियोगिताको प्रचार तथा समर्थक सहभागिता बढाउने उद्देश्यले विशेष अभियान सञ्चालन गरेको छ। एनपीएल सिजन–३ मा सहभागी आठ टोलीमध्ये सात टोलीसँग प्रायोजन साझेदारी गरेको एक्सट्रीमले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर ती टोलीलाई समर्पित सातवटा स्वागतद्वार निर्माण गरेको जनाएको छ। सम्बन्धित टोलीको पहिचानसँगै एक्सट्रीमको ब्रान्डिङ समेटिएका यी द्वारमार्फत खेल सुरु हुनुअघि नै समर्थकलाई टोलीको वातावरणसँग जोड्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।
एक्सट्रीमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रायोजन साझेदारी गरेको छ। कम्पनीका अनुसार अभियानअन्तर्गत पोल ब्यानर, होर्डिङ, गेट ब्रान्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत पनि एनपीएलको प्रचार भइरहेको छ। प्रतियोगिता सुरु हुनुअघि यस प्रकारको अभियान सञ्चालन गर्ने आफू पहिलो ब्रान्ड भएको दाबी एक्सट्रीमले गरेको छ। एनपीएलको तेस्रो संस्करण असोज १६ अर्थात् अक्टोबर २ देखि मंसिर ५ अर्थात् नोभेम्बर २२ सम्म सञ्चालन हुने तालिका छ।