जनकपुरधाम चैत २३ गते । धनुषा जिल्लाको विभिन्न पाँच वटा पालिकामा संचालित विभिन्न परियोजना सम्बन्धमा जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बिहिबार जनकपुरधाममा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मंडलको अध्यक्षतामा भएको सो धनुषा सामुदायिक विकास परियोजना जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा विभिन्न पालिकामा २०२२ जनवरी देखि दिसम्बर सम्मको कार्यको समिक्षा गरिएको छ । प्लान इन्टरनेसनलको आयोजनामा भएको सो बैठकमा परियोजना प्रबन्धक मन्दिरा न्योपानेले अहिले सम्मको कामका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले दिनुभएको जानकारी अनुसार जिल्लाको बिदेह नगरपालिका, कमला नगरपालिका, सबैला नगरपालिका, शहीदनगर नगरपालिका तथा जनकनन्दनी गाउँपालिकामा संचालित बाल संरक्षण परियोजना,प्रारम्भिक बाल विकास, नेतृत्व र निर्णय,बाल विवाह न्युनिकरण परियोजना,प्रत्याभूत संचार कार्यक्रम लगायतका संचालित परियोजनाहरुको असल अभ्यास तथा चुनौतीहरुका बारेमा जानकारी गराउनु भएको थियो । यी विभिन्न परियोजनाहरुमा सामाजिक विकास र अनुसन्धान केन्द्र, आसमान नेपाल, सामुदायिक परिवार कल्याण संघ तथा जानकी महिला जागरण समाजले काम गरिरहेका छन् । उक्त परियोजनाहरुको मूख्य उद्देश्य बालविवाह न्युनिकरण गरी विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई पुर्णकालिन विद्यालयमा ल्याउने र उनिहरुको अभिभावकलाई जागरुक बनाउने रहेको बैठकको सहजिकरण गर्नुभएका प्लान इन्टरनेसनलको कार्यक्रम विशेषज्ञ मिहिर कुमार झाले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्लान इन्टरनेसनलका क्षेत्रीय प्रवन्धक रविशंकर पंडितले सहभागीहरुको जिज्ञासाको समाधान गर्नुभएको थियो । कार्यक्रममा सामाजिक विकास र अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सुकदेव ठाकुर,घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख किशोरीशरण यादव, पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत, जिल्ला युवा संजाल धनुषाका अध्यक्ष कुलदिप साह लगायतकाले परियोजनाका कामहरुका बारेमा मन्तव्य राख्नु भएको थियो । बैठकमा रणनैतिक परिणाम, परियोजनाको प्रगति विवरण अध्यावधि गरिएको थियो । सो बैठकमा जिल्ला समन्वय समिति धनुषाका उपसभापति संगीता देवी ठाकुर, धनुषका साहायक प्रमुख जिल्ला अधिकारी अनुज भंडारी लगायत साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।