नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडितहरूप्रति ऐक्यबद्धता जनाएका छन्।
उनले यस कठिन घडीमा नेपाललाई भारतको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
रक्षामन्त्री सिंहले दूतावास पुगेर विपद्मा ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरे। उनले दूतावासको शोक पुस्तिकामा समेत सन्देश लेख्दै भारत र नेपाल निकट मित्र तथा साझेदार रहेको र सुख–दुःखमा एकअर्काको साथमा रहने बताएका छन्।
‘निकट मित्र र साझेदार तथा सुख–दुःखका साथीका रूपमा भारत सधैँ नेपालसँग उभिएको छ। यस कठिन समयमा पनि हामी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग काँधमा काँध मिलाएर उभिएका छौँ र खोजी, उद्धार तथा पुनःस्थापनाका लागि नेपालले गरिरहेका प्रयासमा सहयोग गर्न प्रतिबद्ध छौँ,’ सिंहले शोक सन्देशमा लेखेका छन्।
रक्षामन्त्री सिंहको यो भ्रमण नेपालका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि त्यसको प्रभावसँग जुधिरहेको समयमा भएको हो।
गत अगस्ट २६ मा हिमाली क्षेत्रमा ठूलो मात्रामा पानी र माटो–ढुंगासहितको बाढीपहिरो आएर हजारौँ मानिस बेपत्ता भएपछि सोमबार नेपाल र चीनका उद्धारकर्मीहरूले हिलो, बढ्दो नदीको बहाव तथा नयाँ बनेका तालको जोखिमबीच बेपत्ताहरूको खोजीलाई तीव्रता दिएका छन्।
नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा आएको बाढीपहिरोमा मृत्यु हुनेको संख्या ९०३ पुगेको छ।
प्राधिकरणका अनुसार विपद्मा करिब ४ हजार २४७ जना बेपत्ता छन् भने हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ।
साभार: काठमाडौं प्रेस