काठमाडौं, भाद्र २६ गते । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिएकी छिन्। वित्तीय अनियमितताको आरोपमा अनुसन्धान भइरहेका बेला उनले सेप्टेम्बर ९ मा महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसससमक्ष राजीनामा बुझाए।
डब्लुएचओको क्षेत्रीय समितिले सेप्टेम्बर ८ मा उनकाे नियुक्ति समाप्त गर्न सिफारिस गरेको थियो। उक्त सिफारिस कार्यकारी बोर्डले विचार गर्नुपर्ने थियो। डब्लुएचओले विषयलाई स्थापित प्रक्रिया र नियामक व्यवस्थाअनुसार निष्पक्ष रूपमा अघि बढाइएको जनाएको छ।
वाजेदलाई बङ्गलादेशमा भ्रष्टाचार, धोखाधडी, जालसाजी तथा शक्तिको दुरुपयोगको आरोपमा अनुसन्धान भइरहेको छ। डब्लुएचओले जुलाई २०२५ मा उनलाई बेतलबी बिदामा पठाएको थियो भने बङ्गलादेशको भ्रष्टाचारविरोधी आयोगले सोही वर्ष उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
सन् २०२३ मा क्षेत्रीय निर्देशकमा निर्वाचित वाजेदले सन् २०२४ को सुरुवातमा पाँच वर्षे कार्यकालका लागि पदभार सम्हालेकी थिइन्। राजीनामा पत्रमा उनले डब्लुएचओ नेतृत्वप्रति विश्वास नरहेको तथा लामो समय बेतलबी बिदामा राखिँदा आर्थिक कठिनाइमा परेको बताए। नयाँ क्षेत्रीय निर्देशक नियुक्त नभएसम्म नीलेश बुद्धले कार्यवाहक प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका छन्।
साभार ः रातोपाटी