जनकपुरधाम, माघ १३ गते । नेपाल-भारत खुला सिमाको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा नेपाल-भारत खुला सिमा संवाद समूहको अध्यक्ष डा
राजीव झा प्रवक्ता प्रमोद रंगीले बाल अभियानी आदित्य झा लागायतको टोलीले बिदेह नगरपालिका वडा नम्बर -२, दुहबीमा रहेको ऐतिहासिक दुर्गा मन्दिर र दुर्वासा ऋषिको गढको रूपमा परिचित दुर्वासागढ लगायत सीमा क्षेत्रमा अबस्थित ऐतिहासिक ठाउँहरुको निरीक्षण गरेको छ।
निरीक्षणका क्रममा दशगजामा देखिएका दृश्यले नेपाल-भारत सम्बन्धको गहिरो भाइचाराको झलकहरु देखियो। दुबै देशका युवाहरू दसगजामा क्रिकेट खेल्दै र आपसमा सौहार्द साट्दै थिए। साथै, घाम ताप्दै त कोहि दाउरा सुकाउँदै गरेका दैनिकी गतिविधिहरू पनि देखिए। यस्तो दृश्यले नेपाल-भारत खुला सीमाको विशेष सम्बन्धलाई प्रस्ट पार्दछ, जहाँ सामान्यतः अन्य देशहरूको सिमामा बन्दुकसहितको कडा सुरक्षा हुने गर्छ ।
नेपाल भारतको विशेषता भनेकै सीमाक्षेत्रमा रहेका किसानहरू र परिवारहरूको साझा सम्बन्ध हो। धेरै किसानका खेत खलिहानहरू दुबै देशमा फैलिएका छन् भने थुप्रै परिवारका सदस्यहरू नेपाल र भारतका दुई किनारामा बसोबास गरिरहेका छन्। यो सम्बन्ध सिमाना निर्धारण हुनु भन्दा अगाडि एउटै देशमा रहेको इतिहाससँग जोडिएको छ।
यस निरीक्षण भ्रमणले खुला सिमाको सामाजिक, सांस्कृतिक, र आर्थिक महत्त्वहरु उजागर गर्दै नेपाल-भारतबीचको विशेष सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याएको देखिन्छ।