जनकपुरधाम , २३ गते । नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त पहलमा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु-सन्त तथा यात्रुहरूको स्वास्थ्य तथा सुविधालाई ध्यानमा राख्दै हेल्पडेस्क सञ्चालन गरिएको छ।
परम्परागत रूपमा प्रत्येक वर्ष आयोजना हुने मिथिला मध्यमा परिक्रमा हिन्दू धर्मावलम्बीहरूको लागि गहिरो आध्यात्मिक र सांस्कृतिक महत्व बोकेको छ। यस परिक्रमाले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै नेपाल-भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गर्छ।
नेपाल-भारत खुला सीमाका कारण यात्रुहरूलाई सहजता मिल्नुका साथै धार्मिक तथा सांस्कृतिक आदान-प्रदानमा टेवा पुगेको नेपाल-भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झाले बताए।
यस परिक्रमा अन्तर्गत महोत्तरी जिल्लाको पाँच वासामध्ये अन्तिम चरण कंचनवन वास मा हेल्पडेस्क सञ्चालन गरिएको हो। कार्यक्रम सहसंयोजक रुबि झाका अनुसार यात्रुहरूका लागि स्वास्थ्य जाँच, आवश्यक औषधि वितरण तथा अन्य सामग्रीहरू उपलब्ध गराउने कार्य भइरहेको छ। श्रद्धालुहरुलाइ स्वागत स्वरूप अबिर, फूलमाला अर्पण, स्वास्थ्य परीक्षण तथा आवश्यक सहयोग प्रदान गरिएको छ।
नेपाल-भारत खुला सीमाको फाइदाबारे बोल्दै संस्थाका उपाध्यक्ष शिवशंकर साह हिराले धार्मिक तथा सांस्कृतिक गतिविधिहरू खुला सिमानाका कारण सहज रूपमा सम्पन्न गर्न सकिने उल्लेख गरे। भारतका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजन तथा साधु-सन्तहरूले बिना झन्झट नेपाल प्रवेश गरी परिक्रमा गर्न पाउने सुविधा पाएका छन्, जसले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रलाई टेवा पुगेको छ।
मिथिला मध्यमा परिक्रमा नेपाल-भारतबीचको सांस्कृतिक सम्पर्कको प्रतीक मानिन्छ। नेपाल-भारत खुला सीमाका कारण यी धार्मिक यात्राहरू सहज बन्दै गएका छन्, जसले धार्मिक पर्यटकलाई आकर्षित गर्दै नेपालको स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउने काम गरेको कार्यक्रम संयोजक दिपक यादवले बताए।
यस वर्ष नेपाल-भारत खुला सीमा संवाद समूहले धार्मिक परिक्रमालाई थप व्यवस्थित बनाउन गुमसुदा व्यक्तिहरूको खोजीका लागि एलाउन्स प्रणाली सञ्चालन गर्नुका साथै होली महोत्सव भव्य रूपमा मनाएको छ। सहभागीहरूको अनुसार, हेल्पडेस्क सञ्चालन तथा विविध सुविधाहरूको व्यवस्थापनले परिक्रमा यात्रुहरूलाई ठूलो राहत प्रदान गरेको छ।
पत्रकार तथा शिक्षक दिपेन्द्र सिंहका अनुसार, यस्ता कार्यक्रमहरूले धार्मिक यात्रुहरूको लागि सहज वातावरण सिर्जना गर्दै नेपाललाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
कार्यक्रममा कार्यालय सचिव कृष्ण कुमार साह, धनेश्वर ठाकुर, कमला बचाउ अभियानी बिक्रम यादव, बिपिन ठाकुर लगायतको सक्रिय सहभागिता रहेको थियो।
नेपाल-भारतबीचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने यस्ता पहलहरूले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।