जनकपुरधाम, असोज २२ गते । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा (एमाले) र जनमत पार्टीले संयुक्त रूपमा दाबी प्रस्तुत गरेका छन् ।
ती दलले नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्दै प्रदेश प्रमुखसमक्ष समर्थन हस्ताक्षरसहित दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालय, जनकपुरधाममा बुझाइएको उक्त पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सरकार गठन गर्न प्रदेश प्रमुखले आव्हान गरेको सूचना अनुसार दाबी गरिएको उल्लेख छ ।
दाबी अनुसार नेपाली काँग्रेसका २२ जना, नेकपा (एमाले)का २३ जना र जनमत पार्टीका १३ जना गरी जम्मा ५८ जना प्रदेशसभा सदस्यको समर्थन कृष्णप्रसाद यादवलाई प्राप्त भएको दाबी गरिएको छ । हाल प्रदेशसभामा कायम रहेका सदस्य सङ्ख्या अनुसार यो बहुमत हो ।
दाबी पत्रमा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, काँग्रेसका नेता कृष्णप्रसाद यादव र जनमत पार्टीका नेता महेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् । संविधानको प्रावधानअनुसार प्रदेश प्रमुखले अब दाबीको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउनेछन् ।
साभार : नेपाल प्रेस