जनकपुरधाम ,कार्तिक १९ गते । मिथिलासहित तराई मधेशको लोकसंस्कृति पर्व समाचकेवा आज समापन भएको छ । कार्तिक शुक्लपक्ष पञ्चमी तिथिबाट शुरु भएर पूर्णिमासम्म चलेको समाचकेवाको अन्तिम दिन दाजुभाइले समाचकेवालाई तिघ्रामा राखेर फुटालेका छन् ।
दाजुभाइ तथा दिदी बहिनीको प्रेमका प्रतिकका रुपमा रहेको समाचकेवा अवधिभरि मिथिलाको गाउँ घरको चोक चौराहामा विशेष चहल पहल हुने गरेको छ । आज बिहान आँगनमा गाईको गोवरले लिपपोत गरेर आशन राखी त्यसमा दाजुभाइलाई दिदी बहिनीले बस्न लगाई सामा चकेवालाई फोर्न लगाएका हुन् ।
सामा चकेवा फोडिसकेपछि दिदी बहिनीले दाजुभाइलाई नयाँ उत्पादन भएको धानको च्युरा तथा गुण, फलफूल तथा मिष्ठान्न दिएर दाजुभाइको फाड् भर्ने चलन रहेको छ । यसका साथै मिठो मिठो खानेकुरा दाजुभाइलाई दिदी बहिनीले खुवाउने चलन रहेको छ । दाजुभाइले पनि दिदीबहिनीहरूलाई आफ्नो गच्छे अनुसारको उपहार दिने चलन रहेको छ ।
समाचकेवा अवधि भरि गाउँ तथा वस्तिका दिदी बहिनीहरू समूहमा भेला भएर सामा चकेवा सहितका पात्रहरू राखेको डालामा टुक्की बालेर चौबाटोमा समाचकेवा खेल्ने चलन रहेको छ । यसमा दिदी बहिनीले दाजुभाइको पुरुषार्थको वर्णन स्थानीय भाषाको गीत मार्फत गर्ने गरेका छन् ।
फुटाइएको समाचकेवालाई आज साँझ सजाइएको डालामा राखेर अर्को वर्ष आउने गरि विदाई अर्थात् जलासयमा विसर्जन गर्ने चलन रहेको छ भने यसैमा प्रयोग भएको खल पात्रको रुपमा रहेको चुक्ला, चुक्लीलाई गाउँको सबै भन्दा फोहर ठाउँमा लगेर विसर्जन गर्ने चलन रहेको छ ।
यस पर्वले राम्रो पात्रको सम्मान पूर्वक विदाई तथा खलपात्रलाई फोहर ठाउँमा लगेर दिदी बहिनीले मिल्काउने कामले गहिरो सामाजिक सन्देश प्रवाह गर्ने गरेको सामाजिक शास्त्रका शिक्षिका अनिता कुमारी झाले जानकारी दिनुभयो ।
यस वर्ष मैथिली विकास कोषले समाचकेवा महोत्सव तथा पाँच दिने समाचकेवा मूर्तिकला कार्यशाला आयोजना गरेको थियो । मूर्तिकला कार्यशाला नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा जनकपुरधाममा सम्पन्न भएको थियो ।
साभार : रेडियो नेपाल