जनकपुरधाम,कार्तिक २६ गते । अवैधानिक रुपमा मधेश प्रदेश सरकार गठन गरेको भन्दै सात दलले मधेस भवन अगाडि सडक जाम गरी आजबाट धर्ना शुरु गरेका छन् ।
बुधबार बिहानदेखि प्रदेश सरकारको प्रशासनिक भवनको मुख्य प्रवेश गेटमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायत सात दलले शान्तिपूर्ण धर्ना कार्यक्रम शुरु गरेका हुन् ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै हिजो मङ्गलवार विज्ञप्ति जारी गरेर सात दलले आन्दोलन घोषणा गरेको थियो । हिजो मुख्यमन्त्रीले पदभार ग्रहण गर्ने क्रममा मधेश भवन अगाडी सात दल र प्रहरीका बीचमा झडप हुँदा १३ जना नेता तथा कार्यकर्ता घाइते भएका थिए ।
धर्नामा विभिन्न दलका प्रदेशसभा सदस्य, नेता तथा स्थानीय कार्यकर्ता सहभागी थिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त भएका मुख्यमन्त्री सरोजकुमार काठमाडौँ प्रस्थान गर्नुभएको छ । उहाँले आफ्नो सरकार जोगाउन एमालेका केन्द्रीय नेतृत्व तथा नेपाली कांग्रेसका केन्द्रीय नेतृत्वसँग छलफल गर्ने हिजो पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।
सात दलले हिजो दायर गरेको रिटमा सर्वोच्चले पेशी तोकेको छ । मङ्गलवार सर्वोच्चले रक्कीप्रसाद शाह लगायतका कानून व्यवसायीले दायर गर्नुभएको रिटमा दीर्घकालीन रूपमा असर पर्ने नीतिगत निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ ।
साभार : रेडियो नेपाल