जनकपुरधाम ,मंसिर ७ गते । श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको चौथो दिन आज तिलकोत्सव सम्पन्न भएको छ । राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि सम्पन्न भएको हो ।
त्रेता युगमा भगवान् श्रीराम र माता सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाह पञ्चमी महामहोत्सव अन्तर्गत तिलकोत्सव विधि गरिएको हो । जानकी मन्दिरबाट राजर्षि जनकको स्वरूपमा पाहुर लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव राम मन्दिर पुग्नुभएको थियो ।
तिलकोत्सवमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले एक अर्कालाई अङ्कमाल गरेर सम्धी मिलन गर्नुभयो । तिलकोत्सवको अवसरमा दुवै पक्षबीच हास परिहास तथा गीत गायन कार्यक्रम भएको थियो ।
तिलकोत्सवमा दुलही पक्षको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले पाहुर ‘भार’ दुलहा पक्षका प्रतिनिधित्व गरेका राम मन्दिरका महन्थ गिरीलाई हस्तान्तरण गरी सम्धी मिलन गर्नु भएका थिए । विवाह पञ्चमीको पाँचौँ दिन सोमबार जानकीको मटकोर विधि हुनेछ ।
मटकोर विधि गंगासागर पोखरीमा हुनेछ भने मङ्गलवार विवाह पञ्चमीको मुख्य दिन रामजानकी स्वयंवर तथा राति जानकी मन्दिरमा शुभ विवाहको कार्यक्रम रहेको छ । बुधबार रामकलेवा गरेसँगै यस वर्षको विवाह पञ्चमी महामहोत्सव सम्पन्न हुनेछ ।