जनकपुरधाम , पुष ६ गते। विदेह सामुदायिक संस्थाले विदेह नगरपालिका अन्तर्गत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको छ। संस्थाले शनिबार विदेह नगरपालिका वडा नं. ९, इटहर्वास्थित पाण्डेय टोलको रामजानकी मन्दिर तथा धर्मशालामा आयोजना गरिएको विशेष कार्यक्रममा उनीहरूलाई फुलमाला र अविर लगाएर सम्मान गरेको हो।
सम्मान कार्यक्रम विदेह नगरपालिकाका सम्मानित व्यक्तित्व राघवेन्द्र चौधरी (राघो मुखिया)को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जनकपुरधाममा दुःखी तथा गरिब समुदायको सेवामा सक्रिय रहँदै नेपाल–भारत मैत्री सम्बन्ध सुदृढ बनाउन योगदान पुर्याएको भन्दै क्लोथ बैंक नेपाल तथा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झालाई विशेष रूपमा सम्मान गरिएको थियो।
सम्मान ग्रहण गर्दै राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्षसमेत रहेका डा. झाले यस सम्मानले आफूलाई थप जिम्मेवारी बोध गराएको बताए। उनले क्षेत्रवासीहरूले गरेको कदरलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
डा. झाले भने, “म कुनै औपचारिक जिम्मेवारीमा नरहेकै अवस्थामा पनि पार्टी अध्यक्ष राजेन्द्र महतो क्षेत्र नं. ३ का सांसद रहँदा यस टोलमा मन्दिर तथा धर्मशाला निर्माणदेखि सडक निर्माणका लागि करोडौँ रुपैयाँ बजेट विनियोजन गराउन सफल भएको थिएँ। चिसो महिनामा दलित समुदायलाई कम्बल वितरणलगायतका सामाजिक कामहरू पनि सम्पन्न भएका छन्। यदि म जिम्मेवारीमा आएँ भने यसभन्दा अझ बढी काम गर्नेछु।”
उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने तयारीमा रहेको उल्लेख गर्दै सबैको साथ र सहयोग पाए उम्मेदवारका रूपमा अगाडि बढ्ने स्पष्ट पारे।
इटहर्वास्थित प्राणेश्वर महादेव मन्दिरका महन्त शिव नारायण पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिकामा विभिन्न क्षेत्रमा योगदान पुर्याएका जयप्रकाश कुसयैत, विनोद ओझा, प्रेमचन्द्र झा, राजेन्द्र झा, विनय कुसयैत, जिबछ तिवारी, जागेश्वर राउत, जुमराती नदाफ, सियालाल पास्वान, कुसे मण्डल, श्रावण कुसयैत, रत्नेश मण्डल, वीरेन्द्र सिंह, रसुल कबारी, सुखी ठाकुर, सत्रोहन ठाकुर, रामहृदय साह, अवधेश तिवारी, रामचन्द्र मण्डल, सत्यनारायण पाण्डे, सहदेव यादव, अशोक कामती, अरबिन्द कुमार ठाकुर, पप्पु ठाकुर, हेमशंकर ठाकुरलगायतलाई पनि सम्मान गरिएको थियो।
संस्थाका प्रतिनिधि उदय पाण्डेयले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टीका जिल्ला उपाध्यक्ष विनोद ठाकुर, जिल्ला समन्वय समितिका पूर्व उपसभापति दीपक झालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।