काठमाडौं ,पुस २२ गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आफूलाई दुर्व्यवहार गर्ने विशेष महाधिवेशन पक्षधर नभएको बताएका छन्। विशेष महाधिवेशन माग गर्दै प्रदर्शनमा रहेकाहरू र केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता निधिसँग धकेलाधकेल भएको थियो।
तर आफूलाई दुर्व्यवहार गर्ने विशेष महाधिवेशन पक्षधर नभई गुण्डागर्दी गर्ने उच्छृङ्खल तत्त्व भएको बताए।उनले भने, ‘ती गुण्डागर्दी गर्ने उच्छृङ्खल तत्त्वहरू हुन्। त्यो सरकारको पनि कर्तव्य हुन्छ, कुनै एउटा अफिसमा गएर बाटो छेक्ने, बाधा खडा गर्ने प्रयास गर्ने म आउँदा खेरि गाडी, गाडी भित्र पस्ने अवस्था थिएन।’ आफू गाडीबाट ओर्लिएपछि आफूलाई रोक्ने केटाहरूलाई नचिनेको पनि बताए।
उनले थपे, ‘विशेष महाधिवेशन गर्नुपर्यो, तपाईँको भोटर हो भन्न थाले। विशेष महाधिवेशनको म पक्षधर होइन, अश्लील, असभ्य भाषा बोल्नुभयो। उनीहरू कांग्रेसी रहेनछन् भन्ने पुष्टि भयो। विशेष महाधिवेशनका पक्षधर मध्येको मधु आचार्यले केन्द्रीय कार्यालय घेर्ने कार्यक्रम छैन भन्ने वक्तव्य आएको छ।’
साभार : नेपाल प्रेस