जनकपुरधाम, पुष २४ गते । नेपाल सरकारले यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत धान खरिद राम्रो मूल्यमा गरेपछि धान बिक्रीका लागि आउने किसानको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।कम्पनीका मधेश प्रदेश कार्यालय जनकपुरधाममा धान बिक्रीका लागि आउने किसानहरूको सङ्ख्यामा वृद्धि भएको प्रादेशिक कार्यालय प्रमुख निर्मल थापाले जानकारी दिनुभएको छ ।कम्पनीको मधेश प्रदेश कार्यालयलाई यस पटक सोना मंसुलि धान १३ हजार क्विन्टल खरिदका लागि कोटा निर्धारण भएपछि धान बिक्रीका लागि दैनिक रूपमा किसानहरू आउने गरेका छन् । अहिलेसम्म ६ हजार क्विन्टल धान खरिद भइसकेको कम्पनीका प्रमुख थापाले जानकारी दिनु भयो ।
नेपाल सरकारले नै सोना मंसुलि धानको प्रति क्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा मूल्य तोकेपछि किसानले बजार मूल्य भन्दा राम्रो मूल्य कम्पनीमा पाउन थालेपछि धान बिक्री गर्नका लागि हौसिएका छन् । यस पटक ढिलो गरी वर्षा भएका कारणले गत वर्ष भन्दा कम धानको उत्पादन भएको अनुमान गरिएको छ ।गत वर्ष ३२ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य भए पनि बजारमा कम्पनी भन्दा बढी मूल्य भएका कारणले अपेक्षा अनुसारको धान बिक्रीका लागि किसानहरू नआएको तर यस पटक धानको मूल्य बजार भन्दा महँगो कम्पनीले निर्धारण गरेका कारणले धान बिक्री गर्नका लागि आउने किसानको सङ्ख्यामा वृद्धि भएको छ ।
मधेश प्रदेशका कार्यालयलाई तोकेको कोटा यस पटक चाडै पुरा हुने अवस्था रहेको छ । गत वर्ष लक्ष्य अनुसारको धान खरिद नभएका कारणले यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी मधेश प्रदेशको कार्यालयलाई कोटा घटाउने काम भएको छ । यसले यस क्षेत्रका किसानहरूलाई अपेक्षा अनुसारको लाभ नपुग्ने देखिएको छ ।