रौतहट, पुष २४ गते । नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा सीमा सम्बन्धी आन्तरिक समस्याको समाधानका लागि दुवै देशका सुरक्षा अधिकारीबीच रौतहटको चन्द्रनिगाहपुरमा जिल्ला स्तरीय सीमा समन्वय बैठक सुरु भएको छ।बिहीबार दिउँसोदेखि सुरु भएको बैठकमा भारतको सितामाढी तथा नेपालको रौतहट, सर्लाही र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार बैठकमा सीमापार अपराध नियन्त्रण, अवैध ओसारपसार रोकथाम, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने तथा आपसी समन्वय मजबुत बनाउने विषयमा विस्तृत छलफल भइरहेको छ । सीमा क्षेत्रमा देखिने समस्या समाधानका लागि संयुक्त प्रयासलाई अझ प्रभावकारी बनाउने उद्देश्य बैठकको मुख्य एजेण्डा रहेको उहाँले जानकारी दिनुभयो।बैठकमा भारतको सितामाढीका प्रशासन प्रमुख रिचाय पाण्डे, सितामाढी जिल्ला प्रहरी प्रमुख अमित रञ्जन, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका काउन्सिलर मनिषकुमार दास, सशस्त्र सीमा बल (एसएसबी) को २० औँ बटालियनका कमाण्डेन्ट जिसी पाण्डेलगायत नेपाल–भारत दुवै पक्षका सुरक्षा तथा प्रशासनिक अधिकारीहरूको सहभागिता छ।बैठकबाट सीमा सुरक्षालाई थप सुदृढ बनाउने तथा दुवै देशबीचको सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
साभार ः रेडियो नेपाल