दिपेश मल्लिक
जनकपुरधाम , पुष २७ गते । जनकपुर सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ । साधारण सभा शनिवार जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० स्थित संस्थाकै कार्यालय भवनमा आयोजना गरिएको हो ।
संस्थाका प्रवन्धक नागेन्द्र कुमार साहको उपस्थितिमा सम्पन्न साधारण सभामा संस्थाको समग्र आर्थिक, प्रशासनिक तथा संस्थागत गतिविधिबारे विस्तृत समीक्षा गरिएको थियो । सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित कार्ययोजना तथा बजेटमाथि छलफल गरिएको र सदस्यहरूबाट रचनात्मक सुझावहरू प्राप्त भएको प्रवन्धक साहले जानकारी दिए ।
उनका अनुसार आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो, जसलाई उपस्थित शेयरधनी तथा सदस्यहरूले सर्वसम्मतिले पारित गरेका छन् । साथै साधारण सभाबाट नयाँ सञ्चालक समिति तथा लेखा सुपरीक्षण समितिको चयन गरिएको र संचालक समिती लगायत संस्थाका कर्मचारीहरुलाई विशेष सेवा सुविधा प्रदान गरिने सर्वसम्मतिबाट पारित भयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेड धनुषाका अध्यक्ष ध्रुव नारायण यादवले सहकारी आन्दोलनको महत्वमाथि प्रकाश पार्दै सहकारी कुनै एक जाति, वर्ग वा समुदायको मात्र नभई सम्पूर्ण समाजको साझा संस्था भएको उल्लेख गरे । उनले सहकारीमार्फत आर्थिक सशक्तीकरण, आत्मनिर्भरता र सामाजिक एकता मजबुत बन्ने विश्वास व्यक्त गरे । साथै संस्थाको निरन्तर प्रगतिको कामना गर्दै “जय सहकारी” भन्ने नारासहित सदस्यहरूको मनोबल उच्च पारे ।
विशिष्ट अतिथिका रूपमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष मिथिलेश कर्णले सहकारी संस्थाले स्थानीय तहको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै संस्थाले पारदर्शिता र सुशासनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका शेयरधनी, साधारण सदस्यहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागिहरूले सहकारीले विगत १६ वर्षदेखि समुदायमा बचत संस्कृतिको विकास, ऋण प्रवाह तथा आर्थिक अनुशासन कायम गर्न खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
साधारण सभा सफलतापूर्वक सम्पन्न भएसँगै जनकपुर सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी दिनमा अझ सुदृढ, पारदर्शी र सदस्य–केन्द्रित सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।