जनकपुरधाम ,माघ १० गते । कुष्ठरोगको सङ्क्रमणको दृष्टिकोणले मधेश प्रदेश उच्च जोखिममा पर्ने र सबैभन्दा बढी कुष्ठरोगी मधेश प्रदेशै रहेको पाइएको छ ।
घनाबस्ती तथा भारतसँग सीमाना जोडिएका जिल्ला रहेका कारणले मधेश प्रदेशमा ३६ प्रतिशत कुष्ठरोगी रहनुका साथै उच्च जोखिममा रहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका क्षय, कुष्ठका फोकल पर्सन राजवीर यादवले जानकारी दिनुभयो ।
“कुष्ठरोगको छ ओखती सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती” मूल नारासहित सप्ताहव्यापी रुपमा मनाइएको ७३ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा जनकपुरधाममा आयोजित कार्यक्रममा मधेश प्रदेशका ६ जिल्लाहरूमा ८ सय ५७ जना नयाँ कुष्ठ रोगी फेला परेको जानकारी दिइएको छ । देश भरिमा नयाँ कुष्ठ रोगीको सङ्ख्या २ हजार ४ सय ९ रहेको छ ।
यसका साथै कुष्ठरोग लागेर रोग निको पार्न औषधि सेवन गर्नेको सङ्ख्या ८ सय ५ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । मधेश प्रदेशको सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा तथा पर्सा जिल्लामा सबै रोगीहरू रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपालका १६ जिल्लामा कुष्ठरोगी रहेका छन् ।
प्रदेशगत रुपमा मधेश प्रदेशपछि सबै भन्दा बढी कुष्ठ रोगी लुम्बिनी प्रदेशमा रहेका छन् । लुम्बिनीमा ५ सय ७९ जना कुष्ठ रोगी रहेको संघीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख रहेको छ । कुष्ठरोगका कारणले अङ्गभङ्ग रहेका १ सय ५४ जनामध्ये मधेश प्रदेशका ५८ जना रहेका छन् । नयाँ कुष्ठ रोगीमध्ये १ हजार १२ महिला रहेकोमा मधेशमा ३ सय ७८ जना रहेका छन् । बाँकी पुरुष रहेका छन् । मधेश प्रदेशको जिल्लागत रुपमा बारा जिल्लामा सबै भन्दा बढी कुष्ठरोगी रहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नेपालमा सन् २०१९ मा कुष्ठरोगीको सङ्ख्या ३ हजार २ सय ८२ रहेकोमा २०२४–२५ मा २ हजार ४ सय ९ मा झरेको छ । कुष्ठ रोगीको सङ्ख्या घटे पनि रोग लुकाउने प्रवृत्ति अहिले पनि रहेकाले अपाङ्गताको दर उच्च रहनुका साथै संक्रमण दर उच्च, सामाजिक भेदभाव, अभिलेख दुरुस्त नभएको, कुष्ठरोग सरकारको प्राथमिकतामा नपर्नुका साथै दक्ष जनशक्तिको अभाव र खुल्ला सीमाना चुनौतीका रुपमा रहेको धनुषाका जनस्वास्थ्य प्रशासक उमेश यादवले जानकारी दिनुभयो ।
कुष्ठरोग रोगीको श्वासप्रश्वास मार्फत सर्ने भएकाले रोगीको सम्पर्कमा हप्ताको २० घण्टा रहेको खण्डमा स्वास्थ्य व्यक्तिमा रोग सर्ने जोखिम रहने लालगढ कुष्ठ रोग अस्पतालका तालिम अधिकृत अरविन्द साहले जानकारी दिनुभयो । यसको औषधि निःशुल्क रुपमा नेपाल सरकारले प्रदान गर्दै आएको छ । १२ र ६ महिना औषधि सेवन गरेर रोगबाट मुक्ति मिल्ने र नयाँमा नसार्ने भएकाले रोगको पहिचान र उपचार जरुरी रहेको छ ।
साभार ः रेडियो नेपाल