जनकपुरधाम ,माघ १२ गते । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा प्रजातन्त्र स्थापना र सुदृढीकरणमा मधेशको भूमिका अपरिहार्य रहेको बताएका छन्।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली राजनीतिमा मधेशले प्रजातन्त्रका लागि दिएको योगदान कहिल्यै बिर्सन नसकिने उल्लेख गरे।
सभापति थापाले कांग्रेसका दिवंगत नेता प्रदीप गिरीलाई स्मरण गर्दै मधेशले नेपालमा प्रजातन्त्र स्थापनाका लागि खेलेको ऐतिहासिक भूमिकाबारे आफू जानकार रहेको बताए।
‘मधेशले कांग्रेसलाई लगाएको गुण, मधेशले नेपालको प्रजातन्त्रका लागि लगाएको गुण र मधेशले सिंगो नेपाललाई दिएको योगदान म राम्रोसँग जान्दछु। मैले पढेर र बुझेर आएको हुँ,’ उनले भने।
आफूभित्र मधेशलाई आत्मसात् नगरेसम्म कोही पनि पूर्ण नेपाली बन्न नसक्ने तर्क गर्दै उनले भने, ‘मधेशलाई मनभित्र राखेनौँ, आत्मसात् गरेनौँ भने नेपाली पहिचान अधूरो हुन्छ।’
सभालाई सम्बोधन गर्दै आफू मधेशको सम्मान देखेर आफू उत्साहित भएको बताए ।
शिक्षामा चिन्ता, समाधानको प्रतिबद्धता
सभापति थापाले मधेशको शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाउँदै गणित, विज्ञान र अंग्रेजी विषयमा मधेशका विद्यार्थी कमजोर हुँदै गएको उल्लेख गरे। यसको समाधान खोज्ने प्रतिबद्धता जनाउँदै उनले मधेशमा गणित, विज्ञान र अंग्रेजी शिक्षामा सुधार आवश्यक रहेको बताए।
‘कुनै बेला मधेशका शिक्षकबिना पहाड र हिमालमा गणित–विज्ञानको कक्षा चल्दैनथ्यो,’ उनले भने, ‘सप्तरीका गणित शिक्षकले सोलुखुम्बुको पहाडमा गएर मेरा बाबालाई पढाउनुभयो, त्यसैले उहाँ इन्जिनियर बन्न सक्नुभयो।’
तर अहिले अवस्था उल्टिएको उल्लेख गर्दै उनले भने, ‘इतिहास बोकेको मधेशमा आज गणित, विज्ञान र अंग्रेजीमा सबैभन्दा कमजोर विद्यार्थी देखिनु चिन्ताजनक छ। हिजो मैले यो प्रश्न संसद्मा उठाएँ, आज त्यसको उत्तर खोज्न यहाँ आएको हुँ। उत्तर पनि खोज्छु, समाधान पनि दिन्छु।’
सूचना प्रविधिसँग मधेशलाई जोड्ने प्रतिबद्धता
सभापति थापाले अबको १२-१५ वर्षमा नेपालको आम्दानीको मुख्य स्रोत सूचना प्रविधि हुने दाबी गर्दै त्यसका लागि बाल्यकालदेखि नै गणित र विज्ञानमा बलियो आधार आवश्यक रहेको बताए।
‘सूचना प्रविधिमा सफल हुन केटाकेटी वेलादेखि नै गणित र विज्ञान जान्नुपर्छ,’ उनले जोड दिए।
यसका लागि आफ्नो टिमले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि काम गरिरहेको जानकारी दिँदै आगामी पाँच वर्षभित्र ठोस समाधान दिने प्रतिबद्धता जनाए।
मधेशप्रतिको राजनीतिक प्रतिबद्धता
केही वर्षअघि हुलाकी राजमार्गको यात्रा गर्दा नै मधेश आउँछु र यहाँका जनताको प्रतिनिधित्व गर्छु भन्ने मनमा लागेको स्मरण गर्दै थापाले मधेशप्रति आफ्नो राजनीतिक प्रतिबद्धता दोहोर्याए।
‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा यति ठूलो योगदान दिएको, यति धेरै सहिद दिएको मधेशले सिंगो नेपालमा पाउनुपर्ने मान–सम्मान किन पाएन ?’ भन्ने प्रश्न आफूले पटक-पटक उठाएको उनले बताए।
“म प्रश्न मात्र उठाउने गरी होइन, त्यसको उत्तर खोज्ने र समाधान दिने गरी तपाईँहरूको प्रतिनिधि बन्न आएको हुँ,” उनले भने।
काठमाडौंमा क्षेत्रीय कार्यालय खोल्ने घोषणा
सभापति थापाले सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का जनताको समस्या सुनुवाइ र समाधानका लागि काठमाडौंमा क्षेत्रीय कार्यालय स्थापना गर्ने घोषणा पनि गरे।
बाराको सिमरा हुँदै काठमाडौंबाट सर्लाही आइपुगेका थापाले क्षेत्रीय चुनावी सभालाई सम्बोधन गर्दै उक्त कार्यालय सञ्चालनमा ल्याइने बताए। ‘अब निर्वाचन क्षेत्रका जनताले आफ्ना समस्या राख्न प्रतिनिधि खोज्दै भौँतारिनु पर्दैन,’ उनले भने।
सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका छन्।
साभार : नेपाल प्रेस
7 घन्टा पहिले
  
9 Post Views






