काठमाडौं ,माघ १४ गते । नेपाल प्रेसले मंगलबारमात्रै नेपाली कांग्रेसको आधिकारिक वेभसाइटमा सभापतिका रूपमा शेरबहादुर देउवाकै तस्बिर र सन्देश रहेको समाचार सम्प्रेषण गरेको थियो । समाचार प्रभावस्वरुप २४ घण्टा नबित्दै कांग्रेसले आफ्नो वेभसाइटबाट सभापतिका रूपमा देउवाको नाम र तस्बिर हटाएको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको तस्बिर र सन्देश अब कांग्रेसको वेभसाइटमा देख्न सकिन्छ । तर रोचक कुरा के छ भने देउवा र गगनको सन्देश एउटै छ । कांग्रेस सभापतिका रूपमा देउवाले दिएको भन्दा एक शब्द पनि फरक नगरी नयाँ सभापति थापाले सन्देश दिएका छन् ।
कांग्रेसको आधिकारिक वेभसाइटमा यसअघि सभापतिको सन्देशमा जे ब्यहोरा थियो नयाँ सभापतिको सन्देशमा पनि सोही ब्यहोरा छ । देउवा र गगनको व्यक्तित्व फरक छ । उनीहरूको बुझाई र दृष्टिकोण पनि फरक छ ।

नयाँ सभापतिका रूपमा आफ्नो आधिकारिक वेभसाइटमार्फत गगनले नयाँ सन्देश जारी गर्नुपर्ने हो । तर कांग्रेस केन्द्रीय कार्यालय र सभापतिको सचिवालयले देउवाको हुबहु सन्देशमा गगनको नाम र फोटो मात्रै फेरिदिएको छ ।
सभापति देउवाको सन्देश ‘नेपाल देशको उन्नति अनि नेपाली जनताको समग्र प्रगति नेपाली कांग्रेसको मूल अभिष्ट हो’ बाट सुरु हुन्थ्यो । नयाँ सभापति थापाको पनि हुबहु छ ।
देउवाको सन्देश ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्त एवं आदर्शप्रति अटुट आस्था, दृढ र निरन्तर अभियानमा नेपाली कांग्रेस सदैव अविचलित रहनेछ’ मा पुगेर टुगिन्छ । थापाको सन्देशपनि त्यही टुंगिन्छ ।
यसबारे जिज्ञासा राख्दा कांग्रेस केन्द्रीय कार्यालयका एक कर्मचारीले ‘देउवाको नाम र फोटो हटाउन भनेकोले हटाएको तर नयाँ सभापतिको नयाँ सन्देश नआएकाले अपडेट नगरेको’ प्रतिक्रिया दिए ।
साभार : नेपाल प्रेस