जनकपुरधाम, माघ २६ गते । धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेसका श्रद्धेय नेता विमलेन्द्र निधिसँग जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ का कांग्रेस कार्यकर्ता, सहयोगी तथा शुभेच्छुकहरूसँग वडा स्तरीय भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले मुलुकको संविधान र लोकतन्त्र हाल क्षतिग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै त्यसलाई सही ट्र्याकमा ल्याउन कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको बताए। उनले लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको रक्षा कांग्रेसबाट मात्र सम्भव हुने स्पष्ट पारे।
पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका निधिले ढल्केबरदेखि जटहीसम्मको सिक्सलेन सडक आफू मन्त्री रहँदा निर्णय गरेर निर्माण प्रक्रिया अगाडि बढाएको जानकारी दिए। त्यस्तै, जनकपुर–जयनगर रेलमार्गलाई ब्रोडगेजमा रूपान्तरण गर्न भारतीय पक्षसँग पहल आफूले नै गरेको उनले बताए। पछिल्लो समय जनकपुर–अयोध्या हवाई सेवा सञ्चालनका लागि निरन्तर प्रयासरत रहेको समेत उनले जानकारी गराए।
नेता निधिले आफू गृहमन्त्री रहेका बेला जनकपुरधामलाई प्रदेशको राजधानी बनाउने निर्णय गराउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। भौतिक पूर्वाधारसँगै शैक्षिक क्षेत्रको विकासमा पनि आफूले विशेष योगदान पुर्याएको बताउँदै उनले राजर्षि जनक विश्वविद्यालयको स्थापना तथा विभिन्न विद्यालय भवन निर्माण आफ्नै पहलमा सम्पन्न भएको जानकारी दिए। साथै, किसानलाई सुविधा पुर्याउने उद्देश्यले जनकपुर क्षेत्रमा मल कारखाना स्थापना गराउने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा बोल्दै नेता निधिको चुनाव परिचालनको नेतृत्व गरिरहेका प्रदेश सांसद एवं पूर्व प्रदेश मन्त्री रामसरोज यादवले संघीयता र संविधानको रक्षा गर्न नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गरे। उनले धनुषासहित देशका विभिन्न क्षेत्रको विकासमा नेता निधिको उल्लेखनीय योगदान रहेको चर्चा गरे। सिक्सलेन सडकदेखि राजर्षि जनक विश्वविद्यालयको स्थापनासम्म निधिको भूमिका ऐतिहासिक रहेको यादवको भनाइ थियो। उनले नेता निधिलाई विजयी बनाउन सम्पूर्ण कांग्रेस एकढिक्का भएर अघि बढेको स्पष्ट पारे।