जनकपुरधाम, फाल्गुन ४ — क्लोथ बैंक नेपाल र नेपाल–भारत खुला सिमा संवाद समूहले प्रत्येक वर्षझैँ यस वर्ष पनि मिथिला मध्यमा परिक्रमा अवसरमा ‘मानव महाकुण्ड’ नामक सेवा शिविर सञ्चालन गरेको छ। नेपाल तथा भारतबाट आउने साधु–सन्त, महन्थ र श्रद्धालुहरूको सहजताका लागि परिक्रमा मार्गमा हेल्प डेस्क स्थापना गरिएको हो।
हेल्प डेस्कमार्फत निःशुल्क स्वास्थ्य परीक्षण, प्राथमिक उपचार, औषधि वितरण र शुद्ध पिउने पानी उपलब्ध गराइएको आयोजकले जनाएको छ। हालसम्म एक हजारभन्दा बढी तीर्थयात्रीले प्रत्यक्ष सेवा लिइसकेको र नेपालतर्फ पर्ने सबै बासास्थलमा शिविर सञ्चालन गरिने तयारी रहेको बताइएको छ।
शिविर अवलोकनमा मधेस प्रदेशका सभामुख राम अशिष यादव तथा धनुषा क्षेत्र नम्बर–३ का रास्वपा उम्मेदवार मनिष झालगायत सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार उनीहरूको सहभागिताले स्वयंसेवकहरूको उत्साह बढेको छ।
कार्यक्रममा डा. अजय मिश्रा, दयाकान्त झा, दिलिप मिश्रा, क्लोथ बैंक नेपालका अध्यक्ष राजीव झा, सचिव मनिष श्रीओम, कोषाध्यक्ष रुबि झा, धनेश्वर ठाकुर, कृष्ण कुमार साह, जितेन्द्र महासेठ, अम्बु प्रसाद साह, नन्दकुमार झा, राधारमण झा र इन्द्रेस झालगायतको सक्रिय सहभागिता रहेको थियो।
श्रद्धालुहरूले नेपाल–भारत खुला सीमाले धार्मिक आस्था, सांस्कृतिक एकता र ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाएको धारणा व्यक्त गरेका छन्। ‘सेवा नै धर्म हो’ भन्ने नारासहित सञ्चालन गरिएको मानव महाकुण्ड सेवा शिविरले परिक्रमा यात्रालाई थप व्यवस्थित र मानव–केन्द्रित बनाएको सहभागीहरूको भनाइ छ।