वीरगञ्ज, चैत्र ११ गते । वरिष्ठ पत्रकार स्व.सुदर्शनराज पाण्डेको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाद्वारा स्थापित पत्रकारिता पुरस्कार आज एक विशेष समारोहबीच वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतमलाई प्रदान गरिएको छ ।
२५ हजार रुपैयाँको उक्त पुरस्कार पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले प्रदान गर्नुभएको थियो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सांसद पन्तले पर्सा क्षेत्रका पत्रकारिताका धरोहरलाई सम्मान गर्न पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो । सांसद पन्तले गौतमको योगदानलाई नेपाली पत्रकारिताको विकासमा महत्वपूर्ण ठहर गर्दै, स्व. पाण्डेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “पाण्डे दाइ जहिले पनि प्रतिपक्षी भूमिकामा रहनुहुन्थ्यो । मलाई लाग्छ पत्रकारिताको मूल मर्म यही हो ।” साथै, सांसद पन्तले स्व पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारको राशि बढाउने विषयमा आवश्यक पहल गर्ने बताउनुभयो ।
सम्मानित वरिष्ठ पत्रकार गौतमले स्व. पाण्डे सदैव हाँस्ने तर पत्रकारिताका आधारभूत सिद्धान्तसँग कहिल्यै सम्झौता नगर्ने निर्भीक पत्रकारको रूपमा सम्झन योग्य व्यक्ति भएको बताउनुभयो । उहाँले पाण्डेको स्मृतिमा स्थापित पुरस्कार आफूलाई प्रदान गरिएकोमा महासङ्घलाई धन्यवाद व्यक्त गर्नुभयो । स्व. पाण्डेको ०८१ भदौमा निधन भएको थियो । उहाँको स्मृतिमा नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाले स्थापना गरेको यो पुरस्कार यस वर्ष पहिलो पटक वितरण गरिएको हो ।
नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा संयोजक के.सी. लामिछाने, र पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान सामाजिक अभियन्ता कमल चौलागाई लगायतको सहभागिता रहेको थियो ।
साभार : रेडियो नेपाल










