काठमाडौँ , चैत्र १३ गते । सरकारले भदौ २३ र २४ गते प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको पहिलो बैठकले जेनजी प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले सरकारसमक्ष पेश गरेको प्रतिवेदन बमोजिम सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गर्ने र सो समितिको सिफारिस बमोजिम कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
यस्तै, जेनजी प्रदर्शन सम्बन्धमा आयोगले गरेको अन्य सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री पोखरेलले बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकले सरकारका शासकीय सुधारका एक सय कार्यसूची तयार गरी सार्वजनिक गर्ने र नेपाल सरकारको प्रवक्तामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ ।
साभार : रेडियो नेपाल