जनकपुरधाम , चैत्र २८ गते । मधेश प्रदेशका ६ जिल्लामा रहेका कारागारहरूमा आवश्यकता भन्दा बढी कैदी बन्दी भएका कारणले कारागारको समग्र व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।
मधेश प्रदेशका धनुषा र बारा बाहेकका सबै जिल्लाहरूमा कारागार अर्थात् सुधार गृह भए पनि कैदी बन्दी क्षमता भन्दा कतै दुई गुणा तथा कतै तीन चार गुणाले बढी भएका कारणले विभिन्न प्रकारको समस्याहरू देखिएको छ ।
मधेश प्रदेशका ६ वटा कारागारमा हाल १ सय २८ महिला तथा २ हजार ९ सय ४१ पुरुष कैदी बन्दी छन् । जबकि महिलाको क्षमता ९९ जना रहेको छ भने पुरुषको क्षमता १ हजार १ सय २० जना रहेका छन् ।
जिल्लागत रुपमा सबै भन्दा बढी कैदी बन्दी पर्सामा रहेका छन् । पर्साको वीरगञ्ज स्थित कारागारको क्षमता २ सयको भए पनि १ हजार २ सय ५ कैदी बन्दी रहेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ ।
सबै भन्दा कम कैदीबन्दी रौतहटको गौर स्थित कारागारमा छन् । रौतहटमा २ सय बन्दी राख्ने क्षमता भए पनि हाल २ सय ८ जना कैदी बन्दी रहेका छन् । अन्य जिल्लाहरूमा क्षमता भन्दा दुई गुणाले बढी कैदी बन्दीहरू रहेका छन् ।
कारागारहरू केन्द्र सरकारमा भएपनि यसको भौतिक व्यवस्थापन सहितका अन्य सेवाको काममा मधेश प्रदेशका गृह मन्त्रालयले विभिन्न प्रकारको सहयोग गर्दै आएको छ । मधेश प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले सप्तरी, सिरहा तथा महोत्तरी जिल्लामा रहेका कारागारको स्थलगत निरीक्षण गर्नु भएको छ ।
अधिकांश कारागारमा खानेपानीको अभाव रहेको पाइएको छ । यसको समाधानका लागि सबै कारागारमा मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको सहयोगमा ३ सय देखि ७ सय फिटको बोरिङ गर्ने विषयमा छलफल गरेको र चाँडै जडान गरिदिने गृहमन्त्रीले जानकारी दिनुभयो ।
साभार : रेडियो नेपाल









_1775572380.jpg)