जनकपुरधाम, चैत्र ३० गते । जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा एपिएफका खेलाडी आशिफ शेखले दोहोरो शतक बनाएका छन् । उनी पिएम कपको इतिहासमा दोहोरो शतक बनाउने पहिलो खेलाडी बने । यो कीर्तिमान उनले वीरगन्जको नारायणी रङ्गशालामा मधेश प्रदेश विरुद्ध बनाएका हुन् ।
आशिफ क्रिजमा जम्दा चौका र छक्काको वर्षात भएको थियो । उनले ९० बलमा शतक बनाएका थिए । पहिलो शतक बनाएपछि झनै विष्फोटक ब्याटिङ गरेका उनले अर्को शतक ४७ बलमा बनाएका थिए । उनले १ सय ३७ बल खेल्दै १५ चौका र १६ छक्कासहित दोहोरो शतक बनाउँदा नयाँ कीर्तिमान कायम भएको हो ।
१ सय ४२ बलमा २०८ रन बनाउँदै आउट भएका थिए । उनले आर्मीका विनोद भण्डारीको नाममा रहेको १ सय ८९ रनको रेकर्ड तोडेका छन् । विनोदले यो रेकर्ड आज नै कोशी प्रदेशविरुद्ध जनकपुरधाममा बनाएका थिए ।
आशिफको यो तारिफयोग्य पारीमा एपिएफले पिएम कपमा सर्वाधिक योगफलको रेकर्ड समेत बनायो । एपिएफले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९० रन जोड्यो । एपिएफले आर्मीकै ३ सय ६२ रनको रेकर्ड तोड्यो । आर्मीले पनि यो रेकर्ड आजै कोशी विरुद्ध बनाएको हो ।
साभार: रेडियो नेपाल