काठमाडौँ , वैशाख ३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सात प्रदेशका मुख्यमन्त्रीहरूसँग आज समसामयिक विषयमा छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज मुख्यमन्त्रीहरूसँग गर्नुभएको छलफलमा विकास निर्माणलाई तीव्रता दिने, स्रोत साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा संघ-प्रदेश सहकार्य सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै छलफलमा सङ्घीयता कार्यान्वयनलाई अझ प्रभाकारी बनाउने विषयमा पनि छलफल भएको सचिवालयले जानकारी दिएको छ ।
यस्तै बाग्मति प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रधानमन्त्रीको मुख्यमन्त्रीहरू बीच भएको छलफलमा तीन तहको सरकारबीचको सहकार्य, समन्वय र सहअस्तित्वका साथ अघि बढ्नेबारे छलफल भएको बताउनुभयो । मुख्यमन्त्री बानियाँले प्रदेशका गौरवका योजनाहरूलाई संघ र प्रदेशको समन्वयमा कार्यसम्पन्न गर्ने, सडकखण्डको विकास निर्माण, प्रदेशमा केन्द्रमार्फत जाने प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीको छिटो हुने सरुवाले कामकारबाहीमा प्रभाव परेको लगायत शिक्षा, स्वास्थ्य क्षेत्रका समस्याका बारेमा राखेको बताउनुभयो ।
यस्तै कर्णालीका मुख्यमन्त्री यमलाल कर्णेलले संवैधानिक व्यवस्था अनुरुप संघीय र प्रदेशबीच अधिकारको प्रयोग तथा समन्वय अभाव रहेको तथा प्रशासनिक सेवा प्रवाह, शिक्षा, बन, खरिद प्रक्रिया सम्बन्धि देखिएको समस्याहरूबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभएको बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री शाहले सार्वजनिक सेवा, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको समस्या समाधान गर्न, प्रदेशको भूमिकालाई प्रभावकारी बनाउन समयमै सांसदमार्फत सम्बन्धित क्षेत्रका ऐन ल्याउन सरकार अघि बढेको प्रतिक्रिया दिनुभएको मुख्यमन्त्री कर्णेलले जानकारी दिनुभयो ।
साभार ः रेडियो नेपाल




-1712731279_1776179241.jpg)




_1775572380.jpg)
