रामेछाप, साउन १८ : सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज बिहान सुनकोशी नदीमा खसेको कारमा सवार यात्रुहरुको पहिचान खुलेको छ ।
सिन्धुली प्रहरीका अनुसार आज बिहान करिब ११ः४५ बजे काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गअन्तर्गत प्रयोग हुने कारलाई ठक्कर दिएको थियो।
ठक्करपछि कार करिब ५० फिट तल सुनकोशी नदीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा कार चालक सिन्धुपाल्चोक निवासी करिब ३९ वर्षीय दिलकुमार लामा, स्काइभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी करिब २७–२८ वर्षीय गणेश थापा तथा नाम, थर र वतन नखुलेका अन्य दुई जना बेपत्ता भएका छन्।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त कार सडक विभाग यान्त्रिक कार्यालय मुलकोट, मध्यपहाडी लोकमार्गसँग सम्बन्धित रहेको जनाइएको छ। यसअघि प्राप्त जानकारीअनुसार कारसँग सम्बन्धित चालक तिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको बताइएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
दुर्घटनापछि बसका चालक फिक्कल गाउँपालिका–६ निवासी २६ वर्षीय हेमबहादुर तामाङलाई नियन्त्रणमा लिई बससहित खाङसाङ प्रहरी चौकीमा राखिएको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रहरी, सशस्त्र प्रहरी तथा अन्य उद्धार टोली घटनास्थलमा परिचालित भई सुनकोशी नदीमा बेपत्ता कार र चारै जनाको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ । घटनाबारे थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
साभार ः काठमाडौं प्रेस