काठमाडौं, साउन २७ : राष्ट्रिय सभाकी सांसद जयन्ती देवी राईले बजारमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद राईले ग्यासको कृत्रिम अभावका कारण सर्वसाधारणको दैनिक जीवन कष्टकर बनेको बताइन्। एउटै ग्यास सिलिन्डरमा निर्भर नागरिकसँग तत्काल विकल्प नभएको भन्दै उनले दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, विद्यार्थी तथा न्यून आय भएका परिवार थप समस्यामा परेको उल्लेख गरिन्।
उनले बिहानदेखि बेलुकासम्म आफ्नो काम छाडेर ग्यासका लागि लाइनमा बस्नुपर्ने अवस्था रहेको तर लामो समय लाइनमा बसे पनि ग्यास पाउने सुनिश्चितता नभएको बताइन्।
‘ग्यासको सिर्जित कृत्रिम अभावका कारण आज सबै नेपाली नागरिकको भान्सा निकै कठिन भएको छ। जसको एउटै मात्र सिलिन्डर छ, त्यसको कुनै विकल्प छैन। दैनिक ज्याला मजदुरी गर्ने मजदुरहरू, विद्यार्थीहरू अझ झनै कष्टकर अवस्थामा छन्,’ उनले भनिन्।

सरकारले देशमा आवश्यकताभन्दा बढी एलपी ग्यास भित्रिरहेको दाबी गरिरहेको भए पनि बजारमा अभाव देखिनु गम्भीर विषय भएको उनको भनाइ थियो। सरकारले उपलब्ध ग्यासको परिमाण पर्याप्त रहेको बताइरहेको अवस्थामा उपभोक्ताले भने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न उनले उठाइन्।
सांसद राईले नेपाल आयल निगमले समेत ग्यास बिक्री गरिरहेको र टेकुमा ग्यास लिन उपत्यकाका विभिन्न स्थानबाट सर्वसाधारण पुग्ने गरेको बताइन्। भक्तपुर, बुढानीलकण्ठलगायत टाढाटाढाबाट समेत उपभोक्ता ग्यासका लागि टेकु पुग्दा समय र ज्याला दुवै खर्च हुने गरेको उनले उल्लेख गरिन्।
‘टेकुमा लाइन लगाएर भक्तपुर, बुढानीलकण्ठदेखि मात्र होइन, टाढाटाढाबाट आउँदा समयको उस्तै बर्बाद, ज्यालाको पनि उत्तिकै खर्च हुन्छ। त्यसरी पनि ग्यासको ग्यारेन्टी छैन,’ उनले भनिन्।
ग्यासको आपूर्ति पर्याप्त रहेको सरकारी दाबी र बजारमा देखिएको अभावबीच तालमेल नदेखिएको भन्दै सांसद राईले वास्तविक समस्या पहिचान गरी तत्काल समाधान गर्न सरकारसँग आग्रह गरिन्। उनले सर्वसाधारणले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन र कृत्रिम अभाव सिर्जना गर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिइन्।
साभार: काठमाडौं प्रेस



-1786442675_1786450700.jpeg)

-1786354041_1786363575.png)




