काठमाडौं, भदाै ३१ : नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव र बजारमा बढ्दो महँगीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग भए पनि आपूर्ति आधाभन्दा कम रहेको बताए। घन्टौँ लाइन बस्दा पनि ग्यास नपाउने तर कालोबजारमा प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँसम्ममा सहजै पाइने अवस्था रहेको उनको भनाइ छ।
‘काठमाडौँ उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग हुँदा आपूर्ति आधाभन्दा कम छ। घन्टौँ लाइन बस्दा पनि ग्यास नपाइने तर कालोबजारमा सजिलैसँग २६०० रुपैयाँ पाइने जुन खालको स्थिति छ, यसले राज्यको अस्तित्व र उपस्थितिलाई गम्भीर रूपबाट प्रश्न उठाएको छ। यो अस्वाभाविक बजार चक्र सङ्कटको आडमा रचिएको घिनौना लुट हो,’ उनले भने।
कानुनी अधिकारको दुहाई दिँदै अनुगमन निकायहरू मूकदर्शक र निरीह बन्नु सरकारको गैरजिम्मेवारीपन भएको उनले बताए।
‘२० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने नियम केवल कागजमा मात्र सीमित छ। विपद्को बेला नागरिकको चुलो बलेको सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व हो। तर सरकारी निकायहरू यो दुःखको बेला मौनताले आहत जनताको घाउमा नुनचुक छर्किने काम गरिरहेका छन् सभामुख महोदय,’ उनले भने।
रसुवा र नुवाकोटमा आएको भीषण बाढीको तीन हप्ता बितिसक्दा पनि उद्धार तथा राहत प्रभावकारी हुन नसकेको भन्दै केसीले संसद्बाट उच्चस्तरीय समिति गठन गर्न माग गरे।
उनले भने, ‘रसुवा, नुवाकोटमा आएको भीषण बाढीको दुःखद वितण्डा तीन हप्ता नाग्यो। यसले हजारौँ नागरिकको जीउज्यान समाप्त पारे, जीवित रहेका दसौँ हजारको पारिवारिक जीवन उजाडेको छ। भने पाँच हजारभन्दा बढी सर्वसाधारण अझै बेपत्ता छन्। खोजी कार्य अझै जारी छ।’
उनले नुवाकोटको विदुर, त्रिशूली आवतजावत र रसुवासँगको सम्बन्ध अझै सहज हुन नसकेको तथा रोगब्याधी फैलिएको बताए।
केसीले बेत्रावतीदेखि गल्छीसम्म तत्काल पाँचवटा बेलीब्रिज निर्माण गर्नुपर्ने मागसमेत गरे।
उनले भने, ‘बेत्रावतीदेखि गल्छीसम्म तत्काल पाँचवटा बेलीब्रिज पुल निर्माण अत्यन्त जरुरी छ।’
बाढी–पहिरोको संकटका बीच बजारमा खाद्यान्न तथा इन्धनको मूल्य अस्वाभाविक रूपमा बढाइएको भन्दै केसीले कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरे।
उनले भने, ‘राष्ट्रिय शोकको, शोक र विपत्तिको यो कठिन घडीमा हामी सम्पूर्ण एकताबद्ध भई बाढी पीडितहरूको उद्धार, राहत र पुनर्स्थापना कार्यमा राज्यलाई सहयोग गर्न चाहन्छौँ। तर त्यसको बाबजुद पनि जुन त्रासदी, यो अहिले देखिएका त्रासदी बाढी–पहिरोको आडमा आम जनताको भान्सामा माथि भइरहेको निर्लज्ज, अस्वाभाविक र निरङ्कुश मूल्यवृद्धिले अब मौन बस्नु उपयुक्त देखिँदैन।’
उनले चामल, तेल, चिनी, मासु, अण्डा लगायतका खाद्य वस्तुको मूल्य बढेको उल्लेख गर्दै महँगी नियन्त्रणमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताए।
कृत्रिम अभाव सिर्जना गरी खाद्यान्न तथा इन्धनको मूल्य बढाउँदा गरिब तथा मध्यमवर्गीय परिवार थप समस्यामा परेको उनले बताए।
उनले भने, ‘खाद्यान्न र इन्धनको कृत्रिम अभावले गरिब तथा मध्यमवर्गीय परिवारलाई भोकै बस्ने स्थितिमा पुर्याएको छ भने जुन जनताको विरुद्धको अपराध पनि हो। यदि सरकारले अविलम्ब बजारमा युद्धस्तरमा अनुगमन गरी कालोबजारी माथि कडाभन्दा कडा कारबाही गर्दैन र आपूर्ति सहज बनाउँदैन भने पीडित जनता बाध्य भएर सडकमा उत्रिनुपर्ने अवस्था, विवशताले निम्त्याउँछ।’
महँगी, मूल्यवृद्धि र बेरोजगारीका कारण जनतामा असन्तुष्टि बढ्न सक्ने भन्दै उनले सरकारलाई गम्भीर हुन आग्रह गरे।
साभार ः काठमाडौं प्रेस











