एजेन्सी । भारतले न्युजिल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ। बुधबार हैदारावादमा भएको पहिलो एक दिवसीय खेलमा घरेलु टोली भारतले न्यूजिल्याण्डलाई १२ रनले हराउँदै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको हो।
भारतले दिएको ३५० रनको लक्ष्य पछ्याएको पाहुना टोली माइकल ब्रेसवेलको शतकका बाबजुद अन्तिम ४ बल बाँकी हुँदै ३३७ रनमा अलआउट भयो।
ब्रेसवेलले ७८ बलमा १२ चौका र १० छक्कासहित सर्वाधिक १ सय ४० रनको शतकीय इनिङ खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
अन्तिम १२ बलमा जितको लागि २४ रन आवश्यक रहेको बेला ४९ औं ओभरमा हार्दिक पान्ड्याले चार रन मात्रै खर्चिए। अन्तिम ६ बलमा जितको लागि २० रन आवश्यक रहेको बेला क्रिजमा रहेका ब्रेसवेलले पहिलो बलमै छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक मोडमा पुर्याए।
शार्दुल ठाकुरले अर्को बल वाइड फ्याल्दा तेस्रो योर्कर बलमा भने उनी एलबीडब्लूको धरापमा परे। यो सँगै अन्तिम विकेट गुमाएको न्युजिल्यान्ड पराजित भएको थियो। ब्रेसवेल बाहेक मिचेल सान्टनेरले ५७ रन बनाए। उनले ४५ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए। अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
खराब ब्याटिङ प्रदर्शन गरे पनि सातौं विकेटका लागि मिचेल सान्टनार र माइकल ब्रेसवेलले १ सय ६२ रनको सानदार शतकीय साझेदारी गर्दै न्युजिल्यान्डलाई जितको सम्भावना कायमै राखेका थिए।
त्यसअघि ओपनर डेभन कन्वे १० रनमा आउट हुँदा अर्का ओपनर फिन एलेनले ४० रन जोडे। यस्तै हेनरी निकोलस १८, ग्लेन फिलिप्स ११, डर्याल मिचेल ९ र टम लाथम २४ रनमा आउट भएका थिए।
भारतका लागि मोहम्मद शिराजले सर्वाधिक ४ विकेट लिए। कुलदीप यादवले र शार्दुल ठाकुरले समान २-२ विकेट हात पार्दा हार्दिक पान्ड्या र मोहम्मद शामीले एक एक विकेट लिए।
त्यसअघि राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनाएको थियो।
भारतका लागि शुभमन गिलले सानदार दोहोरो शतकीय इनिङ खेले। १ सय ४९ बलमा १९ चौका र ९ छक्कासहित २ सय ८ रन बनाएका गिल ओडिआईमा दोहोरो शतक प्रहार गर्ने विश्वका आठौं ब्याटर बनेका छन्। उनी भारतका पाँचौं दोहोरो सतक प्रहार गर्ने खेलाडी हुन्।
अन्य भारतीय ब्याटरको भने प्रदर्शन राम्रो हुन सकेन। कप्तान रोहित शर्माले ३४ रन बनाउँदा सूर्यकुमार यादव ३१, हार्दिक पान्ड्या २८, वासिन्टन सुन्दर १२, विराट कोहली ८, ईशान किशन पाँच र शार्दुल ठाकुर ३ रनमा आउट भए।
न्युजिल्यान्डका तीव्र गतिका बलर हेनरी शिफ्ले र डर्याल मिचेलले दुई-दुई विकेट लिए। लोकी फर्गुसन, मिचेल सान्टनार र ब्लेयर टिकनरले एक एक विकेट हात पारे।साभार : सेतोपाटी