जनकपुरधाम। विश्वकै लामो पदयात्रा मानिने १५ दिने लामो मिथिला माध्यमिकी परिक्रमा सुरु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिकास्थित मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासँगै परिक्रमा सुरु भएको हो ।
साधुसन्त र मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले भगवानको डोला काँधमा राखेर मन्दिरबाट निकालेका छन् । मुख्यमन्त्री यादवले केहि दुरी काँध थापेका थिए । पछि साधुसन्त डोला बोकेर परिक्रमा थाले ।
परिक्रममा हजारौं साधुसन्ध र भक्तजन सहभागी छन् । परिक्रममा सहभागीहरु नेपालको १०७ किलोमिटर र भारतको २३ किलोमिटरसहित कुल १३० किलोमिटर पदयात्रा गर्नेछन् ।
१५ दिने पदयात्रामा १५ स्थानमा विश्राम स्थल छन् । विश्राम स्थलमा परिक्रममा सहभागीहरु रात विताउँछन् । बसेकै ठाउँमा उनीहरु आफैं खाना पकाएर खाने गर्छन् । अधिकतर सहभागी खाना पकाउने समान र बस्त्रहरु बोकेरै हिड्छन् ।
परिक्रममाले पहिलो दिन अर्थात् आज राति हनुमान नगरमा विश्रा मगर्नेछन् । त्यहाँबाट डोला गिरिजास्थान पुग्छ । त्रेतायुगमा भगवान राम र माता सिताको पहिलो भेट गिरिजास्थानमा भएको मानिन्छ ।
महोत्तरीको मटिहानी, जलेश्वर, मड़ै, ध्रुवकुण्ड, कञ्चनवन, क्षिरेश्वरनाथ महादेव, पर्वता, धनुषाधाम, सतोषर, औरही, करुणा, बिसौलसहितका स्थानको परिक्रमा गर्दै १५ औं दिन जनकपुरधाम पुगेपछि समापन हुन्छ ।
यो यात्रा मोक्षदायक, कल्याणदायक र आरोग्यदायक हुने जनविश्वास छ । त्रेता युगमा श्रीराम र श्री सीताको विवाहपश्चात् मिथिलाका विभिन्न क्षेत्रको भ्रमण गरेको सम्झनामा मिथिला माध्यमिकी परिक्रमा परम्परा सुरु भएको साधुसन्तहरु बताउँछन् ।
‘मर्यादा पुरुष श्रीराम र मिथिला नन्दिनी सीताको पदचिन्ह पछ्याउने यात्रा हो यो’, परिक्रममा सहभागी एक साधुले भने, ‘यो यात्रा सुःख शान्तिकै लागि हो । सबैको जय होस् भनेर हामी पनि हरेक वर्ष सहभागी हुन्छौं ।’