जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरू हात्ती पाईले रोगको उच्च जोखिममा रहेको छ । विश्वमा रहेको हात्ती पाईले रोगी मध्ये धेरै रोगीहरू भरतको विहार, उत्तर प्रदेश, झारखण्ड तथा छत्तिसगढ जस्ता राज्यहरूमा भएकाले मधेश प्रदेश सहित तराई मधेशका जिल्लाहरू उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरूले जानकारी दिनु भएको छ ।
हाल विश्वमा ७२ देशमा हात्तीपाइले रोगी रहेका छन् । ती देशहरूमा ५ करोड १४ लाख हात्तीपाइले रोगका संक्रमितहरु रहेको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा उल्लेख रहेकाले यस रोगलाई सन् २०३० सम्ममा उन्मूलन गर्ने लक्ष्य सहित संक्रमित मुलुकहरूमा सङ्गठनले निःशुल्क रुपमा औषधि प्रदान गरेर अभियानको रुपमा नागरिकहरूलाई खुवाउने क्रम जारी रहेको छ ।
नेपालमा पनि हात्ती पाईले रोगीको सङ्ख्या ३० हजार रहेको छ । नेपालमा पाईने रोगी मध्ये धेरै रोगीहरू तराई मधेशका जिल्लाहरूमा नै हुने अनुमान गरिइएको छ । मधेश प्रदेशका कतिपय जिल्लाहरूमा १० पटकसम्म हात्ती पाईले रोग विरुद्धको औषधि खुवाउँदा पनि रोगीहरू फेला पर्न रोकिएको छैन । यस पटक अभियानको रुपमा नै फागुन ११ गतेबाट स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्ती पाईले रोग विरुद्धको तीन प्रकारको औषधि खुवाइन थालिएको छ ।
२ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने अरू सबैले खान मिल्ने स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत शिवजी दासले जानकारी दिनु भएको छ । ११ गतेबाट धनुषा जिल्लाका १८ वटै पालिकामा एक साथ तीन प्रकारको औषधि मान्छेको उचाइको आधारमा खुवाउन लागिएको छ । विश्व स्वास्थ्य सङ्गठनले उचाइका आधारमा औषधि खुवाउनका लागि निर्देशन दिइएको छ ।
यस पटक खुवाइन थालेको आईभरमेक्सन, डाईफाईक्यावामिजाईन र एल्मेडाजोल निक्कै प्रभावकारी भएको सङ्गठनले जनाएको छ । एक्कै पटक उचाइको आधारमा खुवाइन थालेको औषधिको प्रभाव ९६ प्रतिशत रहेको विश्व स्वास्थ्य सङ्गठनको अनुसन्धानले पुष्टि गरेको अर्का स्वास्थ्य अधिकृत रामबाबु ठाकुरले जानकारी दिनु भएको छ । औषधि खाइसकेपछि माइक्रो फलेरियाको प्रभाव शरीरमा नभएकाहरूलाई कुनै प्रकारको स्वास्थ्य समस्या आउने छैन भने यसको जीवाणु प्रवेश गरेको व्यक्तिको हकमा सामान्य तथा धेरै भाईरस भएका व्यक्तिलाई औषधि सेवनपछि केही असर पार्ने भएकाले त्यसको उपचारको सम्पूर्ण प्रबन्ध गरिइएको छ । यस्तो प्रभावित हुनेको सङ्ख्या १ लाखमा १ जनासम्म हुने स्वास्थ्य कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा जनाएको छ ।
धनुषा जिल्लाको जनक चौकमा फागुन ११ गते औषधि खुवाउने अभियानको थालनी गरिने भएको छ । औषधि सहितको स्वास्थ्यकर्मीहरू धनुषाको १८ वटै पालिकाहरूमा परिचालन गर्ने काम भएको छ । मधेश प्रदेशका ८ वटै जिल्लाहरूमा हात्ती पाईले रोगीको सङ्ख्या निक्कै रहेको र यसको विस्तृत सर्भे चैत्रबाट शुरु गरिने भएको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । कार्यक्रमको अध्यक्षता हात्ती पाईले रोगको औषधि खुवाइने अभियानका स्वास्थ्य अधिकृत एवं संयोजक नागेश्वर यादवको अध्यक्षतामा सम्पन्न भएका थिए ।साभार : रेडियो नेपाल