विराटनगर । संसदीय मामिला पत्रकार सञ्जाल नेपालले प्रदेश १ को नामकरणको सन्दर्भमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।सञ्जालका अध्यक्ष विष्णुप्रसाद घिमिरेले एक प्रेस विज्ञप्ति जारी गर्दै फागनु १७ गते प्रदेश १ को नामकरणको प्रक्रिया अगाडि बढाउने क्रममा प्रदेशसभाले पत्रकारमाथि गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।‘प्रदेशसभामा नामकरण प्रक्रियाका क्रममा मत विभाजन प्रक्रिया र घोषणा गर्ने समयमा पत्रकार दीर्घाबाट मर्यादा पालक लगाएर समाचार संकलन गर्न पुगेका पत्रकारलाई बाहिर निकालिएको घटनालाई कुनै पनि हिसावले न्यायोचित मान्न सकिदैन’, विज्ञप्तिमा भनिएको छ, यस किसिमले पत्रकारहरूलाई दुर्व्यवहार गर्नु सञ्चार क्षेत्रको अपमान हो ।’
खुल्ला संसदका बारेमा व्यापक बहसहरू भइरहेको अवस्थामा प्रदेशसभाहरू खुला, पारदर्शी र जवाफदेही हुनुपर्नेमा पत्रकारहरू माथि गरेको व्यवहार त्यस विपरीत भएको ठहर सञ्जालको छ ।यस्तै कोशी प्रदेश संसदीय पत्रकार मञ्चले विज्ञप्ति जारी संसदको गरिमालाई कायम राख्दै संसदमा रिपोर्टिङ गर्ने पत्रकारहरूलाई प्रदेशसभाको हलबाट बाहिर निकाल्नु सामान्य घटना नभएको बताएको छ ।
अध्यक्ष गणेश लम्साल र सचिव कुमार लुईटेलले एक विज्ञप्ति जारी गर्दै नागरिकहरूको सुसूचित हुन पाउने हक अधिकार कुण्ठित गर्ने प्रयास भएको बताएका छन् ।‘आगामी दिनमा प्रदेशसभाका सबै गतिविधि र प्रक्रियाहरूमा निर्वाध र स्वतन्त्र रूपमा पत्रकारहरुलाई समाचार संकलन गर्ने स्वतन्त्रता प्रदान गर्न मञ्च माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशको नामकरकण गर्ने दिन प्रदेशसभाको आधिकारिक पोर्टलबाट बैठकका कुनैपनि गतिविधिहरू प्रत्यक्ष प्रसारण नगरी आम नागरिकहरू संसदीय गतिविधि सुसूचित हुने अधिकारबाट वञ्चित हुनु परेको हाम्रो ठहर छ ।’आगामी दिनमा यस्ता घटना दोहोरिएमा संसदीय पत्रकार मञ्च चुप लागेर बस्न नसक्ने प्रदेशसभा, प्रदेशसभा सचिवालय, प्रदेश सरकार, राजनीति दल, प्रदेशसभा सदस्यलाई मञ्चले चेतावनीसमेत दिएको छ ।साभार : नेपाल प्रेस