काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।साथै नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको छ । साथै निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । आजबाट नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रुपमा काम गर्नेछन् ।शपथ ग्रहणमा निवर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतका शीर्ष दलका नेताहरु सहभागी थिए ।साभार : नेपाल प्रेस